एमाओवादीभित्रको अन्तर–रङ्गहरु र रंगिएपछिको विचित्र
टेनिस रोका (विचार ब्लग) –
नेपाली राजनीतिमा जब राष्ट्रिय सहमतिको नाममा या त अरु नै बहानामा सरकार परिवर्तन हुन सुरु हुन्छ तब त्यहाँ पार्टी टुटफुटको खतराहरु बढेर जान्छ । इतिहासलाई हेर्दा पनि यही नै देखिन्छ । जसको उदाहरण मधेसवादी दलहरुमा गनन्य रुपमा भेटिन्छन् । कारण खोज्दै जाँदा नेपाली राजनीति समाजसेवा भन्दा पनि पैसा मेवामा बढी लक्षित छ ।
यहाँ जे जति पार्टी भित्र विवाद देखिएको छ । टुटफुट भएको छ । पार्टीहरु भाँचिएका छन् । बांगिएका छन् । त्यसको पछाडी आर्थिक पक्षले नै महत्वपूर्ण भूमिका खेलेको छ । जुन आर्थिक पक्षको खोलो विदेशबाट समेत बग्ने गरेको छ । मधेसवादी दलहरुमा पटक–पटक फुटको पहिरो जान्छ त्यहाँ आर्थिक लेनदेन नै अगाडी छ । नेतृत्वमा रहेकाहरु जहिल्यै आर्थिक आँखा लेनदेनमा घुमाउने अनि तल्लो तहसम्म नीति कार्य कार्यक्रम नै नलाने भएपछि स्वतः पार्टी फुटमा जानुलाई अनौठो मान्न सकिदैन ।
पछिल्लो पटक विघटित संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक दल बनेको एकीकृत नेकपा माओवादी फुट्यो । त्यसमा सरसर्ती हेर्दा र बुझ्दा कार्यनीति र कार्यदिशामै अलग भएर फुटेको भनिन्छ अनि धेरैले त्यही पनि बुझेका छन् ।
विवादको चुरो कोट्याउन वैद्य पक्षहरुले भन्ने गरेको प्रचण्ड पक्ष संशोधनवादमा फसेको कुरा र प्रचण्डहरुले भन्ने गरेको जडसुत्रवादबाट माथि उठ्न नसकेको कुरालाई यहाँ त्याग्दा अच्चम पनि नहोला । किनकी सबैतिर छताछुल्ल भएरै एकीकृत नेकपा माओवादी फुटेको हो अनि नयाँ पार्टी र नयाँ नेतृत्व समेत बनिसकेको अवस्था हो ।
यहाँ माओवादी विभाजन पछि कांग्रेस एमाले अहिले जति खुसी भएका छन् । त्यो खुसीको पनि अर्थ छैन । खुसीमै रमाई रहने हो भने भविष्यमा त्यो खुसी पनि दुःखदमा परिणत नहोला भन्न सकिन्न । माओवादी फुट राष्ट्रका लागि हितकारी मान्न सकिदैन ।
र कांग्रेस एमालेका लागि पनि फाइदोमूलक छैन । सबैभन्दा बढी घाटा अध्यक्ष प्रचण्डलाई छ । उनको राष्ट्रपति बन्ने चाहना पुरा हुने सम्भावना कमै छ । फेरि वैद्य बाले भने झै विद्रोहमा जाने र त्यसका लागि बन्दुक समेत बोक्न पछि नपर्ने हो भने अब यो देशमा पुनः बन्दुक उठ्ने छ । त्यो बन्दुक मुक्तिका लागि भनेर नारासहितको हुनेछ तर मुलुकको हितविपरित हुनेछ । किनकी मुलुकमा रगतको खोलो बग्नेछ, जनताले मुक्ति भन्दा पनि दुःख बढी पाउनेछन् त्यति मात्रै होइन भर्खरै १० वर्षे युद्धको विश्राम लिएको नेपालले अर्को युद्ध धान्न समेत सक्ने छैन ।
बन्दुक नै उठाइएमा बन्दुकको खाँचो हुने छैन । यता, बोक्नेहरु पनि कहिल्यै सकिने छैनन् । किन की पैसा भए भारतले जति पनि हतियार किन्न दिनेछ । यो उसको बिजनेस न हो । अनि यो देशमा ८० प्रतिशत बढी भोका व्यक्तिहरु छन् । उनीहरु १८ घण्टा काम गरेर बिहान बेलुका हातमुख जोड्न मात्रै तल्लिन छन् ।
यसर्थ, अबका दिनमा राजनीतिक दलहरुबाट सही निकाश सही दिशा र सही निर्णय आएन भने यो देशमा के हुन्छ यसै भन्न सकिदैन ।
किनकी केही समय अगाडी फुटेको माओवादीमा पनि सही सिद्धान्त र अलिक फराकिलो सोचाईको अभावकै कारण यस्तो अवस्थाको सिर्जना भएको हो ।
बाहिरकाले क्रान्ति भनिरहे । हुँदा–हुँदा त्यही भित्रै शाषक र शोषित दुई वर्ग बन्यो वर्ग नमिलेपछि वर्ग नै विभाजित हुन पुग्यो । आखिर क्रान्ति भएको भए देश बन्थ्यो । जनता सबै समान हुन्थे । तर यहाँ राजनीति मात्रै भयो– कुर्सी र सत्तामा जहिल्यै नेताहरु केन्द्रित भए । व्यक्ति व्यक्तिका महल ठरिए । जनता भने उही ठाउँको ठाउँमै बस्न भन्दा अरु केही पाएनन् । खासमा माओवादी चुकेको त्यही हो । जब उसले जनतालाई छाडेर कुर्सी र सत्तामा केन्द्रित भयो । आफ्ना इच्छा चाहना पूरा गर्नमा बढी ध्याउन्न भयो । सत्ता र कुर्सीमा पुग्न जनताको भावनालाई छाडेर विदेशीको चाकरी गर्न पनि पछि परेनन् । त्यहीबाट माओवादी चुक्यो ।
माओवादी चुक्न मात्रै होइन फुट्यो पनि । तर सँधैका लागि फुटेको होइन । अहिले वर्ग विभाजित मात्रै भएको हो । साँच्चै माओवादी सर्वहरा जनताको पार्टी बन्ने हो भने अहिले पनि एकढिक्को सम्भावना छ ।
त्यसर्थ माओवादी फुटेको होइन ।
जसको लागि प्रचण्डले साहस गरे हुन्छ – तत्कालका लागि राज्य समितिदेखि माथिका सबै सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्नुपर्छ । अनि क्रान्ति पूरा भएपछि राष्ट्रियकरण । यो कुरो त पहिल्यै बहसमा आउनुपर्ने हो तर आएन । अझै केही बिग्रिएको छैन । वैद्यहरुले साथ दिनेछन् । उनीहरुले साथ नदिए आफैँ सकिनेछन् । त्यसैले हिम्मत गर प्रचण्ड । एमाओवादी पैसा र कुर्सीमुखी भन्दा पनि जनतामुखी बनाऊ, सम्पत्तिमा लालहित हुने कमरेहरुलाई अब पार्टीकरण गर । नातावाद, कृपावाद लात मार । त्यसो गर्दा २÷४ जना अवसरवादी कमरेडहरु भाग्नेछन् तर फुटेका कमरेडहरु मात्रै त के करोड नेपालीले तिमीलाई साथ दिनेछन् । अनि तिमी बिना पैसाको देशको एक मात्र सर्वहारा नेता हुने छौँ तिम्रा अघिपछि करोड जनता हुनेछन् ।
प्रकाशित मिति:
June 29, 2012