बलात्कारको आरोपमा १५ वर्ष जेलमा बसेपछि जापान अदालतले भन्यो - "उसलाई छाडिदिनु" (भिडियोसहित) I
जेठ १५ – १५ वर्ष जेलमा बसेपछि जापानी महिलालाई बलात्कारपछि हत्याको अभियोगमा रहेका नेपाली गोविन्द्रप्रसाद मैनाली अन्तत छुटेका छन् ।
१५ वर्षपछि आज टोकियोस्थित उच्च अदालतको आदेशमा उनी रिहा भएका हुन् ।
अदालतले मैनालीलाई निर्दोष सावित गर्दै मुक्त गर्ने फैसला गरेको विरोधमा परेको रिट खारेज भएको छ ।
सन् १९९७ मार्चमा ३९ वर्षीया यौनकर्मी महिलाको बलात्कारपछि हत्या अभियोगमा इलामका मैनाली थुनामा थिए ।
हत्या गरिएकी महिलाको बीर्य र रौंको डीएनए परीक्षण गर्दा मैनाली निर्दोष ठहरिएका थिए । योकोहामास्थित कारागारमा रहेका मैनाली रिहा भएपछि जापानमा रहेका नेपालीले खुशी साटेका छन् ।
कानुनी लडाइँ
(नागरिकन्युजबाट) वाटानाबीको मृत शरीर गोविन्द बस्ने घरसँगै जोडिएको ‘शिबुया-सो १०१' अपार्टमेन्टमा भेटिएको हो । मार्च ८ का दिन हत्या भएको ती महिलाको शव मार्च १९ मा टोकियो प्रहरीले भेटेको थियो ।
प्रहरीले आफूलाई खोजिरहेको छ भन्ने मैनालीले थाहा पाइसकेका थिए । तर हत्यामा नाम जोडिन्छ भन्ने सोचेकै थिएनन् । भिसा सकिएर ‘ओभरस्टे' गरेकाले प्रहरीले खोजेको होला भन्ने उनलाई लागेको थियो । त्यही भएर आफैं प्रहरीसामु उपस्थित भएका थिए ।
‘समातिनु केही दिनअघि उहाँ ‘मलाई पुलिसले पछ्याइरहेको छ' भन्नुहुन्थ्यो । ‘हामीले ओभरस्टे गरेकाले पछ्याएको होला भन्ने शंका गर्यौं,' श्रीमती राधाले भनिन्, ‘एक्कासि यस्तो समाचार सुनियो ।'
प्रहरीले सुरुमा त गोविन्दलाई ओभरस्टेकै आरोप लगायो । पछि ‘महिलाको हत्या र लुटपाट'मा बढी सोधपुछ गर्न थाल्यो । अन्तर्राष्ट्रिय कानुनअनुसार एउटा आरोपमा समातिएको व्यक्तिसँग अरु घटनाबारे सोधपुछ गर्न मिल्दैन । तर यो कानुन मिचेर प्रहरीले गोविन्दमाथि वाटानाबीको हत्या गरी ४० हजार यान (झन्डै ३ सय ५० अमेरिकी डलर) लुटेको आरोप लगायो ।
हत्या भएकी महिला दिनभरि टोकियो इलेक्ट्रिक पावर कम्पनीमा काम गर्थिन् भने साँझ परेपछि देह व्यापारमा संलग्न हुने त्यहाँका प्रहरीले जनाएका छन् । यो घटनाले यतिसम्म चर्चा पायो यसैमा आधारित भएर शिनिची सानोले सन् २००३ मा लेखेको किताब ‘दी मर्डर अफ एन इम्प्लोई अफ टोकियो इलेक्ट्रिक पावर कम्पनी' टोकियोमा सर्वाधिक बिक्री हुने सूचीमा पर्न सफल भयो ।
घटनाको दुई दिनअघि गोविन्द वाटानाबीकै अपार्टमेन्ट भाडामा लिन गएका थिए । निरीक्षकसँग साँचो लिएर उनले अपार्टमेन्ट हेरे । उनले ‘नेपालबाट बहिनी आउने भएपछि आफूसँग बस्ने तीनजना साथीका लागि अपार्टमेन्ट हेर्न गएको' प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले भने हत्याको दुई दिनपछि मात्रै उनले अपार्टमेन्टको साँचो फिर्ता गरेको आरोप लगाएको थियो ।
उनले अपार्टमेन्टको साँचो फिर्ता गरिदिन ‘लिरा' भन्ने साथीलाई दिएका थिए । लिराले मार्च १० का दिन फिर्ता गरेको बयान प्रहरीलाई दिएकी थिइन् ।
प्रतिवादी वकिलहरुको भनाइमा यही बयानका कारण टोकियो उच्च न्यायालयले गोविन्दलाई दोषी ठहर गरेको हो । तर अदालतले फैसला सुनाइसकेपछि लिराले प्रतिवादी वकिलसमक्ष ‘प्रहरी दबाबमा झुठो बयान दिएको' बताएकी थिइन् ।
यही बयानलाई समातेर मानवअधिकारवादी संस्था तथा एम्नेस्टी इन्टरनेसनलले उक्त फैसलाको विरोध गर्दै आएका छन् । यसमा सबभन्दा बढी साथ दिनेमा जापानीहरु नै छन् ।
सन् १९९७ मार्चमा टोकियो जिल्ला अदालतमा प्रहरीले गोविन्दविरुद्ध पहिलोपटक मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले सन् २००० अपि्रल १४ का दिन गोविन्द निर्दोष भएको फैसला सुनायो ।
निर्दोष ठहरपछि उनलाई नेपाल फर्काउन आवश्यक कागजात मिलाउन भनी अध्यागमन विभाग लगिएको थियो । अध्यागमन कार्यालयबाटै प्रहरीले फेरि पक्राउ गर् यो । त्यसपछि सरकारी वकिलले टोकियो उच्च न्यायालयमा मुद्दा दायर गरे । न्यायालयले सन् २००० डिसेम्बर २२ का दिन पहिलेको फैसला उल्टाउँदै आजीवन कारावास सजाय सुनायो ।
गोविन्दलाई जुन न्यायाधीशले निर्दोष ठहर गरेका थिए उनैले दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएका थिए । पछि ती न्यायाधीशलाई भ्रष्टाचारमा संलग्न रहेको आरोपमा निलम्बन गरियो । उच्च न्यायालयको पाँच सदस्यीय बेन्चमा तीनजनाले वाटानाबीको पक्ष लिएका थिए ।
उच्च न्यायालयले आजीवन कारावास सजाय सुनाएपछि २००१ जुलाईमा प्रतिवादी वकिलले टोकियोस्थित सर्वोच्च अदालतमा अपिल गरे । सर्वोच्चले पनि उच्च न्यायालयकै फैसला सदर गरेपछि गोविन्द नेपाल फर्कने बाटाहरु बन्द भए ।
तर उनी निर्दोष छन् भन्नेमा विश्वस्त जापानकै केही शुभेच्छुकहरुको सहयोगले यो मुद्दा त्यत्तिकै हराउन पाएन ।
घटनास्थलमा भेटिएका ४२ वटा प्रमाणमा डिएनए परीक्षण गर्दा एउटै पनि मैनालीसँग मिल्ने भेटिएन। ती सबै अर्को एक व्यक्तिसँग मिलेको भेटिएपछि अदालतले यस्तो निर्णय सुनाएको हो।
अदालतको फैसलापछि आयोजित पत्रकार सम्मेलन। भिडियो सौजन्यः क्योदो न्युज
प्रकाशित मिति:
June 07, 2012