असार २९ असार – डा. बाबुराम भट्टराई केही वर्षअघि भद्रकालीस्थित नार्क भवनमा रहेको एप्रोक्सको पुस्तकालयमा अध्ययन गरिरहनुभएको थियो । उहाँ पुस्तकालयभित्र अध्ययन गरिरहनुभएको पुस्तकालयको हेरचाहको जिम्मा पाएको सहयोगीले पत्तै पाएनन् । बेलुका पुस्तकालय बन्द गरेर उनी आफ्नो घरतिर लागेछन् ।
आफूले एकरात सोही पुस्तकालयमा बिताएको उहाँले पत्नी हिसिला यमीलाई सुनाउनुभयो । हाल यो पुस्तकालय बन्द छ ।
यमीका अनुसार पुस्तकालय भनेपछि डा भट्टराई हुरुक्क हुन्छ । मन परेको पुस्तक पढ्दा उहाँ कहिलेकाहीं खान पनि बिर्सनुहुन्थ्यो ।
“लौ न, यस्ता व्यक्ति प्रधानमन्त्री बनेका छन्, उहाँ कहाँ पुस्तकालयको प्रवद्र्धनको योजना लिएर टोली जानुप¥यो, म पनि तपाइँहरूको साथमा जान्छु”, प्रधानमन्त्री डा बाबुराम भट्टराईका पत्नी यमीले आज यहाँ आयोजित कार्यक्रममा विगतका ती स्मरणहरू सुनाउँदै भन्नुभयो ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको सातौँ साधारणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पत्नी यमीले भन्नुभयो, “अहिले पनि डा भट्टराई एक घण्टा भए पनि किताब नपढी सुत्नुहुन्न ।”
“डा भट्टराईले बरु मलाई छाड्नुहोला नयाँ नयाँ पुस्तक पढ्न छाड्नुहुन्न”, यमीले हाँस्दै भन्नुभयो । डा भट्टराई पढ्न लागेको देखेपछि आफूले पनि कुनै व्यवधान नगर्ने यमीको भनाई छ ।
“अहिलेको त बजेट बनिसक्यो, अब अन्य कुनै माध्यमबाट काठमाडाँै उपत्यका सार्वजनिक पुस्तकालयको विकास कसरी गर्न सकिन्छ त्यसतर्फ मेरो सहयोग हुनेछ”, प्रधानमन्त्री पत्नी यमीले भनिन् ।
उनले भनिन्, “म काम गरिहाल्न रुचाउँछु, डा भट्टराई अन्तर्मुखी र पुस्तकप्रेमी हुनुहुन्छ ।”
विसं २०६० मा स्थापना भएको समाजले २०६१ बाट भृकुटीमण्डपमा पुस्तकालय सञ्चालन गर्दै आएको छ । हाल यो पुस्तकालयमा विभिन्न क्षेत्रका ५० हजारभन्दा बढी पुस्तक सङ्कलन गरिराखिएको छ ।
करिब ९० हजार पाठकले अध्ययन गरिसकेको यो पुस्तकालयका लागि पायक पर्ने स्थानमा जग्गा प्राप्त नहुँदा दिनप्रतिदिन बढिरहेका पाठक र पुस्तकको व्यवस्थापन गर्न समाजलाई धौ धौ परिरहेको छ ।
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले भने– “मेरो घरमा मैले अध्ययन गरेका करिब १५ हजार पुस्तक होलान्, यी पुस्तक कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता लागेको छ ।”
यो चिन्ताबाट मुक्त हुने केही उपाय निक्लन्छ कि भन्ने आशाले आफू कार्यक्रममा सहभागी भएको उनको भनाई छ ।
कार्यक्रममा समाजका महासचिव तीर्थराज वन्त, सदस्यहरू गणेश साह, राजेश्वर आचार्य, डा दुर्गेशमान सिंह र भक्तबहादुर बलायरले पुस्तकालयको महत्वमाथि प्रकाश पारे ।
सो पुस्तकालयले विद्युतीय पुस्तकालय, पुस्तकालय तथा सूचना सेवा तालिम सञ्चालन गर्दै आइरहेको छ भने लेखकलाई लेखकीय वातावरणसमेत उपलब्ध गराउन सुरु गरेको छ । रासस