असार २२ – पूर्व जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश शर्मा बलदेवले सातबुँदे सहमति कमजोर भएको औल्याएका छन् ।
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका बलदेवले सेना समायोजका विषयमा दलहरूबीच भएको सात बुँदे सहमतिको जग कमजोर भएको धारणा व्यक्त गरेका हुन् ।
सेना समायोजनको काम अघि बढिरहेको अवस्थामा प्रचण्ड पक्षधर मानिएका शर्माको यो भनाईलाई निक्कै महत्वका साथ हेरिएको छ ।
पूर्वपिएलए सङ्घ नेपालको एमाओवादी अवध–मधेस स्तरीय भेला तथा प्रशिक्षणका क्रममा बुटवलमा बलदेवले बिहीबार पत्रकारसँगको कुराकानीमा सातबुँदेको जग बलियो नभएकाले बुधबारबाट सुरु भएको सेना समायोजन दर्ता प्रक्रियामा समस्या उत्पन्न भएको औँल्याएका थिए ।
जनमुक्ति सेनाले सम्मानजनक समायोजनको महसुस नगरे समायोजन रोज्नेको सङ्ख्या घट्न सक्ने समेत उनको भनाई छ ।
दलहरू बीचको सातबुँदे सहमतिअनुसार समायोजनको मर्म अभिव्यक्त हुने गरी समायोजन प्रक्रिया अघि बढाउनुपर्ने उनको धारणा छ ।
'नेपाली सेना र जनमुक्ति सेनाको पृष्ठभूमि फरक–फरक भएकाले सेना समायोजनको दर्ता प्रक्रियामा भएको अप्ठ्यारोका कारण समायोजनमा जानेको सङ्ख्या घट्न सक्छ' उनले पत्रकारहरुसँग भने– 'समायोजन रोजेका तीन हजार १२३ मध्ये सेना समायोजनको दर्ता प्रक्रियामा दुई हजार ५०० देखि दुई हजार ६०० सम्म जान सक्ने सम्भावना छ ।'