साउन २२ – तपाईले अहिलेसम्म चालक बिना नै कुनै दुर्घटना नै नभई रेल गुडेको सुन्नु भएको छ । छैन होला ? त्यसो भए नेपालमै कुनै दुर्घटना बिना एउटा रेलले २९ किलोमिटर गुडेर पार गरेको खबर पढ्दा छक्क नपर्नुहोस् ।
सोमबार भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेलले चालक बिना २९ किलोमिटरको दुरी पार गरेको छ ।
जनकपुर आउने तयारीमा रहेको जेड ई एन ५ (५३५) नम्बरको डिजल इन्जन चालक बिना नै २९ किलोमिटर दुरी पार गर्न सफल भएको हो ।
उक्त रेलले उक्त दुरी पार गर्ने क्रममा दुई दर्जन माथि पुल सँगै सातवटा रेल्वे स्टेशन तथा थुपै्र सहर र गाउँलाई पार गर्दै अघि बढेको थियो । अन्य दिनमा प्रतिघन्टा दस किलोमिटरका दरले कुद्ने रेल चालक बिना झन्डै पचास किलोमिटरको गतिमा गुडेको देख्दा स्थानीयले हल्लाखल्ला गरेका थिए ।
रेल्वे कर्मचारीहरुले समेत यसलाई एक अचम्मको घटनाको रुपमा चित्रण गरेका छन् । इतिहासमा बिरलै घटेको यो घटनालाई प्रत्यक्ष रुपमा देख्ने रेल्वे स्टेशन बुक स्टलका सञ्चालक राजेन्द्र कुशवाहाले यो दृश्य धेरै अचम्म लाग्दो बताएका छन् । खल्लाखल्लाले जयनगरबाट रेल जनकपुर आइपुग्दा सयौँ स्थानीय वासिको भिड लागेको थियो ।
हल्लाखल्लाले जनकपुरको रेल्वेमा धनुसा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका एसपी लगायत जिल्लाका विशिष्ट व्यक्तिहरु समेत ठूलो संख्यामा प्रहरी सुरक्षावल रेल्वे स्टेसन पुगेको थियो । जनकपुरमा रेल आइपुग्दा स्थानीय युवा र रेल्वे कर्मचारीले गुडीरहेको रेल रोक्न लिकमाथि अवरोधक वस्तुहरु राखिसकेका थिए । रेलको लिकमा अवरोधक वस्तु राखेकाले ठूलो दुर्घटनाबाट रेल बचेको रेल्वे स्टेसन एरिया क्लबका अध्यक्ष देवु यादवले बताएका छन् ।
सोमबार अपराह्न साढे तीन बजे जयनगरबाट जनकपुर आउने रेलसेवाका चालक रफिकर कवारीले रेलको इन्जनलाई सफा गर्ने क्रममा रेल गुडेको थियो । रेल सञ्चालन साहायक एक कर्मचारीका अनुसार भने रेलको इन्जन स्टाट गरेर चालक पानी खान निस्किएको बेला इन्जनले तिब्र गति लिएपछि रेल लिकमा दौडिएको थियो ।