खै कहाँ छन् प्रचण्ड ?
कृष्णज्वाला देवकोटा
लाग्छ, यो देशमा अब प्रधानमन्त्रीको उल्कापात हुनेछ । लोकसेवकहरूको खडेरी देखिएका वेला मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेर 'देशको सेवा गर्न तयार' उदार व्यक्तित्वको निकै ठूलो संख्या राष्ट्रका लागि राहत र गौरवको विषय हो । नेताहरू कोही सडकबाट, कोही सभापतिको आसनबाट, कोही कवि-सम्मेलनबाट त कोही पत्रकार सम्मेलनबाट चिया अर्डर गरेझैँ प्रधानमन्त्री पदमा निर्धक्क दाबी पेस गरिरहेका छन् । सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल त छँदै छन्, दिल्लीबाट फर्केका केपी ओलीले पनि सडकबाटै आफ्नो नाम दर्ज गराएका छन् । शाहीकालमा पटक-पटकका 'झन्डै-प्रधानमन्त्री' तारानाथ रानाभाटले पनि 'स्वतन्त्रले सरकारको नेतृत्व गर्ने भए मेरो पहिलो दाबी छ' भनिसकेका छन् । प्रश्न यत्ति हो, नेताहरू लक्ष्मण खड्काको स्तरमा ओर्लिएको र राजनीतिले गाईजात्रालाई फिका बनाएको अवस्थामा संकटको समाधान खोज्ने र पहलकदमी लिनेचाहिँ कसले हो ?
देशमा पदमा बसिदिनेहरूको अकाल छैन, अकाल छ समाधान खोज्नेको । पछिल्लो समयमा प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई पूराका पूरा बहिष्कार गरेका छन् । यो संवादहीनतामा संयोजकको भूमिका निर्वाह गर्न सक्ने र गर्न पर्ने राष्ट्रपति रामवरण यादव आफैँ एउटा पक्ष बन्न चाहे । सत्ता र प्रतिपक्ष नदीका दुई किनार भइरहेका वेला रामवरण यी दुईलाई जोड्ने पुल बन्न सक्थे तर शक्ति प्रदर्शनको निरर्थक अभ्यास सुरु गरेर उनले पुल होइन, पर्खाल खडा गरिरहेका छन् । अध्यादेश फर्काएर उनले त्यसको पुष्टि गरेका छन् ।
राजनीति भनेको शक्ति खोस्नुमात्रै होइन, न त लोकतन्त्र केवल संवैधानिक प्रक्रिया मात्रै हो । मुलुकलाई यतिखेर ज्यालादारी राजनीतिभन्दा परको रचनात्मकता चाहिएको छ । देशमा जननिर्वाचित निकाय छैन । चुनावको ठेगान छैन । संविधान छैन । शान्तिप्रक्रिया टुंगिएको छैन । राज्य पुनर्संरचनाजस्तो जटिल विषयलाई पार्टीहरूले भोटको दोकानमा खुद्रा मूल्यमा बेचिरहेका छन् । देशलाई चौबाटोमा मिल्काएर नेताहरू आपसी आरोप-प्रत्यारोपको आनन्द उठाइरहेका छन् । मुलुकको पहिलो राष्ट्रपति आफ्ना गरिमाको सुरक्षा गर्नभन्दा शक्तिको अभ्यास गर्न लालायित देखिएका छन् । यस्तो अवस्थामा निकासको पहल सामान्य ढंग र तरिकाबाट सम्भव छैन ।
यतिखेर माओवादीको एउटा तप्कालाई लागेको होला, अनिर्णयको यही अवस्थाले क्रान्तिको ढोका खोल्नेछ । कांग्रेस र एमालेलाई लागेको होला, जनमत हासिल नगरे पनि राष्ट्रपतिलाई शिखण्डी बनाएर लामो समय शासन गर्न सकिनेछ । राजावादीहरूलाई लागेको होला, तिर्खाएको देशले फेरि एकपटक राजतन्त्रको हिलो पिउनेछ । तर, यी सबै अनुमानले जनताको मनस्थितिको सही अध्ययन गरेका छैनन् । राजनीतिक गतिरोध यही रूपमा लामो समयसम्म लम्बिइरह्यो भने सबै नेता, सबै दल र समग्र प्रक्रियामाथि नै जनताको निणर्ायक मोहभंग हुनेछ ।
यतिखेर प्रधानमन्त्री पूर्ण बहिष्करणमा पारिएका छन् । कांग्रेस सभापति सुशील कोइराला पार्टीभित्रै कमजोर र विवादास्पद भएका छन् अनि उनको नेतृत्वक्षमतामाथि सबैभन्दा बढी प्रश्न पार्टीभित्रैबाट गरिएको छ । तेस्रो पार्टी भएर पनि दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेको एमाले यतिखेर संयोजकको भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छैन । सत्ता र प्रतिपक्षबीच संवादको कुनै सेतु नै नदेखिएका वेला यतिखेर पहलकदमी लिनुपर्ने र लिनसक्ने एउटै व्यक्ति छन्- एमाओवादी अध्यक्ष प्रचण्ड । ठूलो दलको नेता, सत्तारुढ गठबन्धनको अध्यक्ष, शान्तिप्रक्रियाको आधा अंशियार र परिवर्तनको मुख्य हिस्सेदारका हैसियतले मात्र होइन, अरू थुप्रै व्यक्तिगत गुणले पनि प्रचण्डलाई अरू नेताको पंक्तिबाट अलग उभ्याउँछ । उनको सक्रिय अग्रसरताविना अब मुलुक भिडन्तबाट जोगिन सक्दैन । तर, प्रश्न उठ्छ, अहिले उनी के गरिरहेका छन् ?
प्रचण्डसँग केही विशेष क्षमता छन्, जसले उनलाई भिन्न सावित गर्छन् । उनीसँग साहस छ र घुम्ने क्षमता पनि छ । कम्तीमा उनी लगाम लगाएको घोडा होइनन् । दश वर्षअघि माओवादीले जनयुद्ध सुरु गर्दा अधिकांशले यसलाई केही महिनामै चकनाचुर हुने दुस्साहस मानेका थिए । सिद्धान्ततः यस्तो युद्धका पक्षधरसमेत त्यतिखेर नेपालमा राज्य र जनताबीचको विरोधाभास जनयुद्ध सुरु गर्ने तहसम्म पुगिसकेको छैन र वर्तम्ाान विश्वमा यस्तो युद्धलाई एकाध वर्ष पनि तन्काउन सकिन्न भन्ने ठान्थे । जातीय, क्षेत्रीय, वर्गीय वा लैंगिक असन्तोष कम्तीमा त्यो तहसम्म अनुभव हुँदैनथ्यो, जसले सशस्त्र क्रान्तिलाई प्रेरणा देओस् । तर, निकै छिटो युद्धको झिल्का डढेलो भएर फैलियो र त्यसले नेपालको राजनीति मात्र होइन, इतिहास नै बदलिदियो ।
प्रचण्ड छविको व्यवस्थापनमा कमजोर छन् तर उनमा केही अनौठा गुण छन् । अघिल्लो दिनमा रणमैदान बनेको विस्तारित बैठकलाई भोलिपल्टै उनी सौहार्दताको बैठक बनाउन सक्छन् । रातारात पहल गर्न सक्छन् । आफैँले खडा गरेका पर्खाल नाघेर अग्रसरता लिन सक्छन् । तर, उनी अहिले दोहोरो घेराबन्दीमा छन् । एकातिर केहीलाई शान्तिप्रतिको उनको नियतमाथि शंका छ, अनि केहीलाई क्रान्त्िाप्रतिको उनको नियतमाथि शंका छ ।
मुलुकलाई यतिखेर साहसी राजनीतिक नेतृत्वको खाँचो छ, जो आफ्नै जडतालाई पनि नाघ्न सक्छ । प्रचण्डसँग त्यो खुबी छ । दश वर्ष लामो जनयुद्ध झुक्किएर बाह्रबुँदे समझदारीको सुरुङमा पसेको थिएन । माओवादी कुनै उखुको बिटो पनि थिएन, जसलाई गिरिजाप्रसाद कोइरालाले दिल्लीको कुनै गल्लीबाट जापानी बोके ट्याक्टरमा लोड गरेर सिंहदरबार छिराएका थिए । युद्धको रथलाई शास्त्रको जमिनबाट सम्भावनाको जमिनमा उतार्ने साहसिक निर्णय मूलतः प्रचण्डकै थियो किनकि उनीविना सिंगो माओवादीलाई बाह्रबुँदेमा कसैले लैजान सक्ने थिएन ।
काठमाडौंका अभिजातहरूका खुकुला हुँदै गएका मुठी संविधानसभा विघटनपछि फेरि कसिला हुँदैछन् र तिनले राजनीतिलाई उल्टो दिशामा लैजान हरसम्भव प्रयत्न गरिरहेका छन् । नेपालको राजनीति अहिले 'तीन स र एक र' मा अड्किएको छ-सत्ता, शान्ति, संविधान र राज्यको पुनर्संरचना । शान्तिप्रक्रिया र संविधाननिर्माणको राजनीतिक प्रक्रियाका दुई पिता थिए, गिरिजाप्रसाद कोइराला र प्रचण्ड । जुन दिन प्रचण्ड पनि झलनाथ खनाल वा सुशील कोइरालाजस्तै आन्तरिक गणितका बन्दी बन्नेछन्, त्यो दिन यो प्रक्रियाको स्वामित्वबोध गर्ने र जोखिम उठाउने कोही रहनेछैन । प्रचण्ड मनपर्न सक्छन् र नपर्न सक्छन् । तर, यो प्रक्रियाका निणर्ायक आजका दिनमा फेरि पनि उनी नै हुन् ।
तर, प्रचण्ड अहिले गतिशील नदेखिएको आभास हुन्छ । संघीय लोकतान्त्रिक मोर्चा निर्माण गरेर मुलुकलाई सहमति होइन, ध्रुवीकरणतिर लगेको आरोप उनीमाथि छ । यसका असर र प्रभावबारे प्रचण्ड पक्कै जानकार छन् । अहिलेको मोर्चाबन्दीका पछाडि इतिहास पनि एउटा कारण हुन सक्छ । २० वैशाख, ०६५ मा सेनापति-प्रकरणमा राष्ट्रपति रामवरण यादवको असंवैधानिक हस्तक्षेपपछि सत्ता छाडेको माओवादीलाई संसद्मा चालीस प्रतिशत सिट भएर पनि दुई वर्षसम्म सडकमा खुम्च्याइएको थियो । त्यतिखेर माओवादीलाई एक्लो पारिएको थियो । अहिले प्रचण्डको रवैया हेर्दा यस्तो लाग्छ, उनी पहिले आफ्नो शक्ति सुदृढ गरेर मात्र सहमतिको अग्रसरता लिन चाहन्छन् ।
केही दिनअघि जब माओवादी अध्यक्ष प्रचण्डले 'पाँचबुँदे सहमतिअनुसार शान्ति र संविधानमा सहमति नभएसम्म सुशील कोइरालालाई प्रधानमन्त्री मान्न नसकिने' घोषणा गरे, सुशीलले आक्रामक प्रतिप्रश्न गरे, 'के प्रचण्ड प्रधानमन्त्री बनाउने ठेकेदार हुन् ?' राजनीतिमा विवेकभन्दा आवेग हाबी भएका वेला यस्ता आरोप-प्रत्यारोप समाचारका शीर्षक त बन्न सक्छन् तर तिनले समाधान दिँदैनन् । सुशीललाई थाहा छ, ठेकेदार नै सही, निणर्ायक त फेरि पनि प्रचण्ड नै हुन् । तर, यसको अर्थ अनन्तकालसम्म इतिहासले प्रचण्डको प्रतीक्षा गर्छ भन्ने होइन । प्रचण्ड फेरि एकपटक आफूलाई पुष्टि गर्नैपर्ने बिन्दुमा छन् । आफ्नै जडतालाई पनि नाघ्न सक्ने उनको क्षमता फेरि एकपटक परीक्षामा छ । साभार: नयाँ पत्रिका
Watch Video
प्रकाशित मिति:
August 20, 2012