बाबुरामको पुत्ला जलाउँदा आफ्नै अनुहारमा आगो लागेपछि....
भदौ २२ – बाबुराम सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको झोकमा उनको पुत्ला दहन गर्ने क्रममा एक जना विद्यार्थी नेताको आफ्नै जलेको छ भने अन्य दुई जना घाइते भएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा बिहीबार काठमाडौँको घण्टाघर नजिकै एमाले निकट विद्यार्थी संगठनका नेता सागर धितालको अनुहार जलेको हो ।
थोरै संख्यामा रहेका उनीहरुले हतार हतार प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा पुत्लामाथि पेट्रोल छर्किएको र उक्त पेट्रोल धितालको अनुहारमा पनि परेको अवस्थामा अर्को साथीले सलाई कोरेर पुत्लामा आगो लगाउँदा उनको अनुहारमा पनि आगो लागेको थियो ।
धितालको साथमा पुत्लामा लागेको आगोले शिखर शाह, रामकिशोर सिंह पराग पनि जलेका छन् ।
पुत्ला जलाएर मूल्य वृद्धि फिर्ता गर भन्नु पर्ने बेला साथीको अनुहारमा आगो लागेपछि हतार हतार उनीहरु आगो निभाउन लागेका थिए । सो क्रममा विद्यार्थीहरु दगुरेर आगो निभाउन नजिकैको फलफुल पसल पुगेका थिए । त्यहाँ पसलेले हालिदिएको पानीले आगो निभेको थियो ।
केही समयमै डढेका नेताहरुलाई अन्य साथीहरुले बाइकमा चढाएर हस्पिटल पुर्याए भने अहिले तीनै जनाको उपचार भइरहेको छ ।
उता, घटना हुँदा भने त्यहाँ फिल्मी शैलीको दृश्य देखेर होला बाटो हिड्ने कोही हाँस्दै त कोही कानेखुसी गरेर खुब रमाइलो मानेर हेरिरहेको देख्न सकिन्थ्यो । त्यही माहोल र त्यही मुद्रामा पुलिसहरु समेत कानेखुसी गरिहेका थिए । फोटो : इकान्तिपुर
प्रकाशित मिति:
September 07, 2012