असोज ४ – नेकपा-माओवादीले देश र जनताको विरोधमा हुनसक्ने षडयन्त्रप्रति सतर्क रहन विशेष आग्रह गर्दै दोस्रो निर्वाचनमा जानुलाई जनतालाई झुक्याउने अर्को चालबाजी भएको संज्ञा दिएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्य किरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै तीन ठूला दल र संयुक्त मधेसी मोर्चा सहितको गठबन्धनमा आधारित हिजो बसेको बैठकमा संविधानसभाको दोस्रो निर्वाचनद्वारा देशमा अहिले उत्पन्न राजनीतिक संकटको समाधान हुने सहमति भएको जुन प्रचारबाजी भइरहेको छ, त्यो जनतालाई झुक्याउने अर्को चालबाजी उल्लेख गरेका छन् ।
जुन पार्टी र नेताहरुको गठबन्धनले संविधान नै बन्न नदिएर संविधानसभाको हत्या गरे तिनैले यसप्रकारको समाधानको कुरा गर्नु गम्भीर विडम्बना भएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानका अन्तरवस्तु र निर्वाचन सम्बन्धी समग्र विषयहरुबारे स्पष्ट नगरीकन “निर्वाचन”को कुरा गर्नु अर्को ठूलो धोका भएको पनि बताइएको छ ।
तीन ठुला दल र संयुक्त मधेसी मोर्चाको “सहमति” लाई सबैको सहमति भन्ने भ्रममा नपर्न र देश र जनताको विरोधमा हुनसक्ने षडयन्त्रप्रति सतर्क रहन माओवादीले विशेष अनुरोध हो ।
यसैबीच, आज राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादी पोलिटब्यूरो सदस्य नारायण पौडेलले प्रमुख दलले निर्वाचनमा जाने गरेको सहमतिलाई मुलुकलाई गोलचक्करमा फसाउने षड्यन्त्रको संज्ञा दिए ।
माओवादीले कस्तो संविधान बन्ने भनेर निश्चित नगरी निर्वाचनमा जाने सहमति गर्नु षड्यन्त्र मात्रै भएको उनको भनाई छ ।
कार्यक्रममा पुनः घोषणा गर्न लागिएको संविधानसभा निर्वाचनमा भाग नलिने समेत बताएका छन् ।
उनले चार दलको सहमति जनमतविरोधी रहेको भन्दै विधानसभाको ठेकेदारी चार दललाई नभएको समेत औल्याए ।
कस्तो निर्वाचन भन्ने निश्चित नभएसम्म आफूहरु संविधानसभाको निर्वाचनमा भाग नलिने र बरु आन्दोलनमा जाने उनको भनाई छ ।