असोज २८ – माओवादी भित्र भएका भ्रष्टचार तथा सम्पत्तिको विषयमा तयार भएको प्रतिवेदन कात्तिक ३ गते सार्वजनिक गरिने भएको छ ।
पार्टी नेताहरूको सम्पत्ति छानबिनका लागि गठित आयोगले कात्तिक ३ गते प्रतिवेदन सार्वजनिक गर्ने भएको हो ।
सम्पत्ति छानबिनका लागि गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको र सार्वजनिक गर्ने तयारी भइरहेको बताएको हो ।
यसअघि आयोगले असोजको अन्तिमसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो । तर, केही प्राविधिक काम बाँकी रहेको भन्दै आयोगले कात्तिक ३ गते सार्वजनिक गर्ने जनाएको छ ।
गत असारमा सम्पन्न पार्टीको सातौँ विस्तारित बैठकले पार्टीका नेता अमिक शेरचनको अध्यक्षतामा गठन गरिएको सो समितिले साउनको दोस्रो साताबाट काम थालेको थियो ।
आयोगको समायावधि सुरुमा एक महिना हुने भनिए पनि काम पूरा नभएको भन्दै पटकपटक म्याद थपिएको थियो ।
एमाओवादीले आफ्ना केन्द्रीय तहका नेताहरू शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी नीति विपरित सम्पत्ति जोडेको भन्ने सर्वत्र कुरा उठेपछि आर्थिक हैसियतको सत्यतथ्य बाहिर ल्याउन लागेको आयोगको भनाई छ ।
आयोगले गत साउन ११ देखि साउन २८ गतेसम्म नेताहरूका विरुद्ध उजुरी हाल्न सार्वजनिकरूपमा आह्वान गरेको थियो । आह्वानपछि आयोगमा विभिन्न नेताउपर ६५ वटा उजुरी परेका थिए ।
आयोगले उजुरीवाला र उजुरी पर्नेको नाम गोप्य राखेर छानबिन गरेको जनाएको छ ।