आजदेखि भित्रियो दशैं, पहिलो दिन आज घटस्थापना
असोज ३० – नेपालीहरूको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
बडादशैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज ११ः०७ बजे बिहान घटस्थापना, कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११ः२९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराई बताउनुहुन्छ ।
यसैगरी कात्तिक ५ बुधवार फूलपातीका दिन बिहान ०९:११ बजे तुलजाभवानीको यात्रा तथा ०९:५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११:४३ बजे तुलजाभवानीको यात्रा तथा १२:३९ बजे थिराशनका लागि साइत जुरेको जानकारी उहाँ दिनुहुन्छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहँेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादसैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको नौरूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, ष्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रि पूजा आरम्भ गरिन्छ ।
विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरू सपरिवार बसेर दसैँ मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ । घर जान र घर फर्कनाका लागि राजधानीमा मानिसहरूको आउने र त्यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ ।
बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालतहरू कोजाग्रत पूर्णिमासम्मका लागि बिदा गरिएका छन् । रासस
प्रकाशित मिति:
October 16, 2012