कात्तिक २९ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई राजनीतिक हतियार नबनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३३ द्वारा आज टुँडिखेलमा आयोजित बृहत् समारोहमा प्रधानमन्त्री डा भट्टराईले मुलुकको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने बजेटलाई राजनीतिक हतियारको विषय नबनाउन आग्रह गरेका हुन् ।
सो कार्यक्रममा उनले नेपाल र नेपालीको मौलिक सम्वत्को रूपमा रहेको नेपाल सम्वत्ले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सफल रहेको पनि औल्याए ।
उनले शङ्खधर साख्वाःले गरिबको ऋणमोचन गरेको सन्दर्भमा सुरु भएको यो सम्वत्ले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई कायम राख्दै अगाडि आएको यथार्थ सबै जनतासामु स्पष्ट भएको पनि बताए ।
नेपाल सम्वत्का प्रवद्र्धक शङ्खधर साख्वाःको योगदानबाट सबैले प्रेरणा लिनुपर्ने आवश्यकता आँैल्याउँदै उनले नेपाल सम्वत्अनुसार नयाँ वर्ष प्रारम्भ हुने दिनलाई सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनका लागि आगामी वर्षदेखि प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले सम्वत् अध्ययन तथा सुधार कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।