यस महिनाको आरम्भमा बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका कार्यकर्ताहरूले प्रहरीमाथि आक्रमण गरेकोमा यस समूहका करिब दुई हजार ५०० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी अधिकारीहरूले दिएका छन् ।
यस पार्टीका नेताहरूमाथि युद्ध अपराधमा कारवाही हुन थालेपछि पार्टीका कार्यकर्ता तथा उसका विद्यार्थी सङ्गठनहरूले मुलुकभर प्रदर्शन गर्दा करिब २०० प्रहरी घाइते भएको बताइएको छ ।
गृहमन्त्री मोहियुद्दिन खान अलामगिरले पत्रकारहरूलाई मङ्गलबार पक्राउ परेकामध्ये ३५० आक्रमणकारीमाथि द्रूत सुनुवाईको इजलासमा कारवाही हुने जानकारी दिनुभयो ।
उनले यस समूहका क्रियाकलापलाई रोक्न राज्यले सबै उपाय अवलम्बन गर्ने बताए ।
जमातले भने आफ्नो कार्यकर्ताहरूलाई गलत अभियोगमा पक्राउ गरिएको दाबी गरेको छ । सरकारले जमातका नेताहरूमाथि सन् १९७१ को स्वतन्त्रता सङ्घर्षमा युद्धअपराध गरेको आरोपमा सन् २०११ देखि कानुनी कारवाही आरम्भ गरेको छ ।
जमातले सरकारको कारवाही देखावटी भएको आरोप लगाएको छ र न्यु योर्कमा केन्द्रीय कार्यालय रहेको समूह ह्युमन राइट्स वाचले अदालती प्रक्रिया अन्तर्राष्ट्रिय स्तरअनुसान नभएको उल्लेख गरेको छ ।
वर्तमान सरकारले सन् १९७१ मा करिब तीस लाख जनताको हत्या भएको र धेरैको मृत्यु तत्कालिन पाकिस्तानी सेनाको स्थानीय सहयोगीका कारण भएको दाबी गरेको छ । रासस/एएफपी