मंसिर ११ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीबीच अन्तर भनी आएको प्रचार झुटो भएको बताएका छन् ।
ललितपुरको जावलाखेलमा प्रारम्भिक बाल विकास चौथो राष्ट्रिय सम्मेलनमा पुगेका उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व छ भनेर आएका समाचारमा पनि कुनै सत्यता नभएको औल्याए ।
सो अवसरमा उनले पत्रकारहरुसँग गलत र दूर्नियतपूर्ण ढङ्गले यी कुरा प्रचारमा आएको भन्दै दुखेको समेत पोखे । तथ्यपूर्ण होइन, अध्यक्ष दाहाल सहमति निर्माणका लागि इमान्दारिताका साथ पूर्णरुपले लाग्नु भएको छ उनले बताए ।
अध्यक्ष दाहाल र आफूबीचको सहकार्य, सहमति र एकताबद्ध प्रयासबाट मुलुकको राजनीतिक र संवैधानिक समाधान निस्कने पनि उनले बताए ।
बालुवाटार छाड्दिन भनेर आफ्नो नाम जोडेर आएको कुरा बिल्कुल गलत कुरा भएको पनि उनले बताए । बाहिर आएका कुरा हल्ला मात्रै भएको भन्दै उनले आफूहरु संविधानसभाबाटै संविधान बनाउन तत्पर रहेको र छिटो संविधानसभाको निर्वाचन गराउनेमा लागेको पनि जनाए ।