मंसिर ९ – उहिलेका कुरा खुइलो बडा बा भन्ने गीत जस्तै साँच्चै उहिलेका जमाना गएछन् अब । जसको पुष्टिका लागि धेरै टाढा पनि नगए हुने भएको छ ।
पहिले पहिले विवाह गर्न धुँईपत्यारको काम गर्नुपर्थ्यो । चिना हेराउनुपर्ने । पूर्वपश्चिम जुधाउनुपर्ने हुन्थ्यो । तर अहिले भने मोबाइलबाटै विवाह सम्पन्नहुन थालेको छ । घटना हो नुवाकोट जिल्लाको, जहाँ बेहुला मलेसिया र बेहुली नुवाकोटमा थिइन् तर उनीहरुको विवाह सम्पन्न भएको छ ।
रोजगारीका लागि मलेसिया पुगेका भाल्चे गाविस-८, नुचेतका २६ वर्षीयनाजुर तामाङ र सोही गाविस-२, भाल्चेबेँसीकी १९ वर्षीय प्रेममाया घलेबीच मोबाइलबाटै विवाह सम्पन्न भएको हो ।
उनीहरुको चिनजानी भने फेसबुकले गराईदिएको हो । फेसबुकमा च्याट गर्दागर्दै झ्यागिएको माया । अन्ततः विवाहमा समेत परिणत भयो । विवाहमा भने बेहुलीको घरमा बिना बेहुला तर बेहुला पक्षका जन्ती पुगेका थिए । बेहुला भने टेलिफोन सम्पर्कमा मलेसियाबाटै उपस्थित थिए, र विवाहको सबै बेहुलाले गर्नुपर्ने काम उनले मोबाइलको सहायतामा पूरा गरे ।
लामो समयदेखि चलेको उनीहरुको प्रेम सम्बन्ध अन्ततः मागी विवाहमा परिणत भएको हो । विवाह मण्डपमा बेहुला नभएको विवाह अलिेसम्म नदेखेको प्राय जसो सबैको भनाई थियो ।
तर बेहुला बेहुली पक्षले भने केटा विदेशबाट आउन नभ्याउने भएपछि यसरी विवाह गरेको जनाए ।