मङ्सिर ८ – पिपलबोट प्राथमिक विद्यालय पावै–८ खोर्दामा विद्यार्थीलाई पढाउन चक र डस्टर नभएका कारण तीन दिनदेखि पढाइ हुनसकेको छैन ।
विद्यालयका प्रधानाध्यापक दसैं र तिहारको बिदा सकिएपछि पनि विद्यालयमा उपस्थित नभएको कारण चक डस्टर उपलब्ध नभएर कक्षा सञ्चालन गर्न नसकेको शिक्षक रामकुमार राईले जानकारी दिनुभयो ।
“प्रअले दराजमा साँचो लगाउनुभएको छ, कसैलाई निमित्त नदिएकाले साँचो खोल्न मिल्दैन, किन्नको लागि नजिकमा पाइँदैन, त्यसैले पढाइ नै बन्द भएको छ”, शिक्षक राईले भन्नुभयो ।
दसैँको घटस्थापनाको दिन बन्द भएको विद्यालय गत सोमबारबाट सुरु भएको हो । विद्यालय सञ्चालन भएको भए पनि चक डस्टर नहुँदा पढाइ हुन सकेको छैन ।
विद्यालयका प्रधानाध्यापक बमबहादुर थापाले भने आफू दसैँ मनाउन घर गएको र फर्कन केही दिन ढिलाइ भएको बताउनुभयो । आफ्नो अनुपस्थितिमा चक डस्टर उपलब्ध नगराइको कुरा सत्य नभएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
पिपलबोट प्राथमिक विद्यालयमा हाल दुईजना दरबन्दीका शिक्षक, एकजना इसिडी र दुईजना निजी स्रोतमा राखिएका शिक्षक छन् ।
कक्षा पाँचसम्म पढाइ हुँदै आएको सो विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय पुग्न सदरमुकामबाट एक दिन पैदल हिँड्नुपर्छ । रासस