बैशाख ४ - आसन्न संविधानसभाको निर्वाचन गणितीय हिसाबले मङ्सिरको पहिलो साता हुने प्रवल सम्भावना भएको संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले बताएका छन् ।
बुधबार विक्रम संवत् २०७० सालको वार्षिक भविष्यवाणी गर्ने क्रममा उनले ज्योतिष शास्त्रीय मान्यताअनुसार यस वर्ष पराभव नाम संवत्सरका साथ राजा गुरु र मन्त्री शनि रहेको बतााए ।
यस वर्ष धर्म परायण समाज यज्ञ, होम, धर्म प्रचार जस्ता शुभ कार्यमा प्रवृत्त हुने, धार्मिक एवम् सांस्कृतिक समागम हुने योग परेको छ ।
धान्येश चन्द्र, रमेश गुरु, फलेश शुक्र भएकाले नयाँ वर्षमा सुख वृद्धि हुनेछ । साधु सन्त, द्विजवर्गले सत्कार पाउने नेपाल पञ्चांङ्ग निर्णायक समिति तथा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।
बेमौसमी वर्षाले कष्ट र धनसम्बन्धी सुःखको कमी हुने तथा खाद्यान्नको उत्पादनमा ह्रास भई बजार भाउ वृद्धि हुने देखिन्छ ।
जगत् लग्न कुण्डलीमा सूर्य शनिको मध्य समसप्तक योग वैशाख सङ्क्रान्तिका दिन मेष राशिमा सूर्य–शुक्र–केतुको युती आदि कारणले नेपाल, भारत आदि देशहरूमा राजनीतिक, सामाजिक एवम् आर्थिक स्थितिमा परिवर्तन हुने योग रहेको देखिन्छ ।
सस्येश मङ्लम, मेघेश शनि, निरसेश मङ्लम, धनेश मङ्लम र दुर्गेश शनि भएकाले मुगा, राता कपडा, रक्तचन्दन र तामाको मूल्य बढ्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्योतिष सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
वैशाख–जेठ–असार महिनामा चतुग्र्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको छ । नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिएको छ ।
यस वर्ष शरदीय नवरात्रिमा विश्वघर्स पक्ष पर्न गएको छ । यस्तो घटना यस अघि २३२ वर्षमा परेको र यसपछि १५६ वर्षपछि मात्र पर्न जाने संहिताशास्त्री बास्तोला बताउँछन् ।
मङ्सिर–पुस–माघ महिनामा मुलुकमा सुधारात्मक प्रक्रिया अघि बढ्नाले आर्थिक स्थितिमा सुधार हुने संभावना रहेको छ ।
शासकवर्गको धर्मप्रति रुची बढ्ने, चतुर्थ भावमा उच्च चन्द्र र गुरुको योगले पशु व्यवसाय, वैदेशिक व्यापार र पर्यटन उद्योग फस्टाउने तथा वर्षको उत्तरार्धमा मुलुकमा शान्ति स्थापना हुने योग परेको छ ।
सबै शास्त्र वचनहरू र ग्रह नक्षत्र तारा धूमकेती आदिको सूक्ष्म विश्लेषणबाट समष्टिरुपमा यस वर्ष मिश्रित रहेकाले शान्तिका लागि सहस्रचण्डी महायज्ञ विश्व शान्ति हवन् आदि गर्नाले हुनसक्ने संभावित क्षति न्यून गर्न सकिने उनी बताउँछन् । रासस
Powered by Blogger.
यो वर्ष 'नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना'
प्रकाशित मिति:
April 17, 2013