जेठ १२ । जङ्गलमा पाइने सबै च्याउ विषालु हुँदैनन् तर केही च्याउ पोटासियम साइनाइडभन्दा पनि विषालु हुने व्यावसायिक कीट विकास निर्देशनालय काठमाडौँले जनाएको छ ।
“पुर्खाले जङ्गलबाट च्याउ खोजेर खाँदा विषालु हो वा होइन यकिन गरेर मात्रै खाने गर्दथे । अहिलेका मानिसहरू हचुवाकै भरमा जङ्गली विषालु च्याउ खाने गरेको पाइन्छ” निर्देशनालयका निर्देशक जगदीशभक्त श्रेष्ठले भने ।
च्याउ एक प्रकारको प्रोटिनयुक्त वनस्पतिजन्य खाद्य पदार्थ हो । उक्त खाद्य पदार्थ खेती गरेर तथा वन, पाखा वा ओसिलो कुनाकप्चामा वर्षा लागेपछि आफैँ छ्यापछ्याप्ति उम्रने गर्दछ ।
आफैँ उम्रिएको च्याउ पनि सबै विषालु हुँदैनन् । चिनेर खान सकेको खण्डमा जङ्गलको च्याउबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर हचुवाकै भरमा जिब्रोको स्वादकै लागि त्यस्ता जङ्गली च्याउ खाँदा मानिसको मृत्यु हुनेगरेको च्याउ उत्पादन किसान सङ्घका सदस्य चित्रराज तिमल्सिनाले बताए ।
मिडिया इन्टरनेसनलले शनिबार आयोजना गरेको ‘च्याउखेती ः वर्तमान अवस्था र सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरूले जङ्गली च्याउ नचिनी खाँदा मात्र विषालु हुने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका थिए ।
लगानीको दोब्बर आम्दानी लिन सकिने च्याउ खेतीबाट अधिकांश किसानको जीवनस्तरमा परिवर्तन भएपछि च्याउखेतीको व्यावसायीकरण गर्न अपनाउनु पर्ने प्रक्रिया र सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए ।
युरोपबाट प्रारम्भ भएको च्याउखेती अहिले विश्वका अधिकांश देशमा हुने गर्दछ । नेपालमा व्यावसायिक च्याउखेती ५६ जिल्लामा विशेष गरी कन्ये, गोब्रे र सिताकेको च्याउखेती हुने गरेको छ ।
नेपालमा सबैभन्दा बढी च्याउ उत्पादन हुने जिल्ला नवलपरासी हो । क्रमशः रूपन्देही, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकले मागको आपूर्तिलाई सहज बनाएको अनुभवी कृषक ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।
केही ठूला होटलले मात्र च्याउको आयात गरेको पाइन्छ । अन्य क्षेत्रमा नेपाली उत्पादनले नै धानेको भएपनि अझैसम्म च्याउ निर्यात गर्न सकिएको छैन् ।
च्याउ उत्पादनका लागि नेपालमा राम्रो सम्भावना रहेपनि मागअनुसारको उत्पादन हुन नसक्नुमा बैंक तथा सरकारको दोष रहेको च्याउ उत्पादक किसान तथा व्यवसायीले आयोजित कार्यक्रममा बताएका हुन् । रासस
Powered by Blogger.
जङ्गली च्याउ पोटासियम साइनाइडभन्दा खतरा
प्रकाशित मिति:
May 26, 2013