बैशाख ३० । हिन्दु संस्कारअनुसार नाति देखे स्वर्गको बास हुने विश्वास गरिन्छ । तर नाति मात्रै हैन गुल्मीकी एक वृद्धाले भने खनाति नै देखेकी छन् ।
गुल्मीको रुरु गाविस वडा नम्बर–३ मा विसं १९७० मा जन्मिएकी भीमला ज्ञवालीले धुमधामका साथ खनाति खनातिनासँगै आफ्नो सयौँ जन्मोत्सव मनाएकी छन् ।
उनका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको सङ्ख्या १०६ पुगेको छ ।
भीमलाका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको हाँगो फैलिँदै गएर अहिले १७ नाति, १५ नातिनी, २९ पनाति, ३३ पनातिनी, एक खनाति र चार खनातिनी पुगेका छन् ।
भीमलाका ५८ वर्षीय कान्छा छोरा परमानन्द ज्ञवालीका अनुसार भीमलाको हाँगोबाट फैलिएका सबै सन्तान जीवितै रहेका छन् ।
उनको रगतबाट जन्मेका कुनै पनि सन्तान अहिलेसम्म मरेको छैन । माइतीतिर भने पाँच छोरी र एक छोरामध्ये भीमला र ७३ वर्षीय बहिनी मात्र जीवित रहेको रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक उपज ज्ञवालीले बताए । भीमलाको माइती घर गुल्मीकै सिमीचौर हो ।
उनको जन्मोत्सवको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा भीमलाकै नाता पर्ने प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, स्थानीय समाजसेवी, बुद्धिजीवीसहित सयौँ सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सामान्य खाना खाने उनको स्वास्थ्य अवस्था पनि राम्रो रहेको छ । उनको स्वभाव शान्त रहेको परिवारले जनाएको छ । उनका श्रीमान्को ५८ वर्ष अगाडि नै मृत्यु भएको थियो ।
Powered by Blogger.
१ सय एक वर्षकी वृद्धाका १०६ सन्तान
प्रकाशित मिति:
May 13, 2013