बैशाख २८, रासस । रुकुमको दुलीमा गएराति भएको चक्कु प्रहारबाट दुईजना घाइते भएका छन् । विवाह चलिरहेको ठाउँमा जम्मा भएका केही युवाबीच छुरा हानाहान भएपछि दुली गाविस–३ का मनबहादुर खत्री र मालबहादुर खत्री घाइते भएका हुन् ।
घाइतेमध्येका मनबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिएका छन् ।
घटनामा संलग्न आठविस डाँडागाउँ गाविस–३ का तेजेन्द्र कुसारी, मन्दिर खत्री र दुली–२ का मनबहादुर देवकोटा फरार छन् ।
घटनामा संलग्नलाई भगाएको भन्ने स्थानीयवासीको उजुरीका आधारमा आठविस डाँडागाउँका खम्बु कुसारीलाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहार गर्ने क्रममा रङ्गेहात समातिएका आक्रमणकारीहरुको जिम्मा लिएका खम्बुले राति नै उनीहरुलाई भगाएको आरोप स्थानीयवासीले लगाएका छन् ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुगेको छ ।
Powered by Blogger.
बिहेमा युवाहरुबीच छुरा हानाहान, दुईजना घाइते
प्रकाशित मिति:
May 11, 2013