असार १३ । मगर संघ, अमेरिकाको आठौँ दोहोरी साँझ गत शनिबार न्युयोर्क शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।
हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा दोहोरी गीतका नेपालका राष्ट्रिय स्तरका कलाकार सुमन बुढामगर र राजेश थापामगर संग मंजु पुनमगर, डोलमाया गुरुङ (थापामगर) र यशोदा खालिङ राईले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
हेर्दा राम्री र होंचो होंचो ऊचाई भएकी मंजु पुनमगरलाई न्युयोर्कका राजेश थापामगरले दोहोरीमा भने, "जहाँ गएपनी नछाडने भई डल्लीले कहीं पनी" । ढुंगाको ऊत्तर पत्थरले दिँदै भर्जिनिया देखी आएकी मंजु पुनले भनिन्, "एक्लै भेट्दा फकाऊन आऊँछ, दर्शकको अगाडी धाक् लाऊँछ" ।
त्यस्तै, ऊमेरले कान्छो सुमन बुढामगरले आफुभन्दा जेठी ऊमेरकी डोलमायालाई "म त तन्नेरी छु, तिमी बुढी" को घोंचपेच सहितको रोचक दोहोरी गीतका टुक्काले दर्शकहरू सिटमा बस्नै नसकेर जुरुक् जुरुक् ऊठ्दै मंच अगाडी गएर नाचेको देखिन्थ्यो ।
न्युयोर्क शहरको ऊडसाईड स्थित कुईन्स प्यालेसमा जुन २२ तारिख शनिबार साँझ ८:०० बजे देखी रातभरी बिहानको २:०० बजे सम्म जमेको उक्त दोहोरी-साँझमा अन्य बिबिध साँस्कृतिक कार्यक्रम पनी प्रस्तुत गरिएको थियो ।
अन्य कलाकारहरू थिए: राजकुमार पुन मगर, सन्दिप थापा मगर, फोनिक्स रानामगर, सन्दिप रोकामगर, ईन्द्र राम्जालीमगर, माया गुरुङ (पुन)मगर, सम्झना गुरुङ, सपना गुरुङ, अनिशा घर्तीमगर, तारा चिडीमगर, रुकु रानामगर, सविना मगर, नन्दु फगामीमगर तामाङ, धनमाया थापामगर, जेनी रानामगर, सृस्टि तामाङ र स्वर्निमा श्रेष्ठ ।
प्रस्तुत नृत्यहरूमध्ये; म्याग्दी जिल्लाको "सालैजो", तनहुँ, लम्जुङ्ग तिरको 'कौरा', भूमे-पुजाको नृत्य र कास्की, स्यांजा, पर्बत, म्याग्दी, बाग्लुंग तिरको झाम् रे गीत (झ्याऊरे नृत्य) जस्ता गीत तथा नृत्यहरूले लामो समय देखी अमेरिका भासिएका दर्शकहरूलाई आफ्नो गाउँ, घर-मेलापात, गाउँ, गाउँमा लाग्ने जात्राहरू र रोदीघरको सम्झना दिलायो ।
कार्यक्रमको शुरूमा आयोजना गरिएको संक्षीप्त ऊद् घाटन समारोहमा - संयुक्त राष्ट्रसंघको लागी नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारी प्रमुख अतिथी थिए । प्रमुख-अतिथी लम्साल र नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका (फिप्ना) का कार्यबाहक अध्यक्ष बिनोद पोमोले समारोहलाई सम्बोधन गरेका थिए ।
दोहोरी-कार्यक्रमका संयोजक भबिन्द्र शेरपुन्जामगरले स्वागत भाषण गर्नुभएको उक्त सभा मगर संघका अध्यक्ष क्याप्टेन दल बहादुर रोकामगरको सभापतित्वोमा भएको थियो । नेपाल मगर संघ, अमेरिकाका महा-सचिब मन बहादुर रोका मगरले बडो आकर्षक ढंगले कार्यक्रम संचालन गरेका थिए ।
मगर जातीको पुरुष पहिरन ढाका टोपी, खादी, भान्ग्रा लगाएर मगर-पुरुषहरू र चोली, कालो टेखी, पहेंलो पोते र रातो घलेक (मगर जातीको महिला पहिरन) मा सजिएका मगर महिलाहरू अमेरिकाका बिभिन्न राज्यहरूबाट आएका थिए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसी, भर्जिनिया, म्यारिल्याण्ड, न्युजर्सी, न्युयोर्क, पेन्सिल्भानिया, कनेक्टिकट, बोस्टन, न्युह्याम्पसाएर र सुदुर-पश्चिम सियाटल देखी मगरबन्धुहरू ऊपस्थित भएको कुरा महा-सचिब मन बहादुर रोका मगरले बताए ।
अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डिसीका पुर्ब: अध्यक्ष श्री खेम भट्टचन आते-जाते एक हजार किलोमीटर गाडी हाँक्दै वाशिंगटन डिसीदेखी आऊनुभएको थियो । श्री भट्टचनले भन्नुभो:- मगर समाजको दोहोरी साँझमा प्रस्तुत भएका झाम्रे-गीत र "सालैजो" भाकाले म्याग्दी जिल्लाको चिमखोला गाउँमा एक हप्ता सम्म लाग्ने मगर समुदायको "भुमे-पुजा" जात्रा, अर्को एक हप्ता लाग्ने झिं-पाखापानीका मगर समुदायको "हरेलो जात्रा", बरंजाका मगर समुदायको "धुले-जात्रा", मरांगखोलाको जात्रा, गलेस्वोरको "बाला चतुर्दशी-जात्रा", बेनीको माघे संक्रान्ती-जात्रा र बाग्लुंगको "चैते दशैं-जात्रा" मा तरुनी-तन्नेरीहरूको गीतको खालमा गाईने ठेट लोक-भाकाको याद दिलाऊने भएकोले पनी हरेक साल म यो मगर समाजको दोहोरी साँझमा पुग्ने गर्दछु श्री भट्टचनले भने ।
भट्टचनलाई साथ दिँदै मगर संघ, अमेरिकाका महा-सचिब मन बहादुर रोकामगरले भने, 'अमेरिकामा हुने नेपाली साँस्कृतिक कार्यक्रमहरूमा संधै आधुनिक गीत, पप् गीत र ढ्याक ढ्याक र धुस् धुस् गर्ने डि. जे. मात्रै बज्ने गर्दछ' ।
अमेरिकामा नेपालको ठेट लोक संस्कृतीको संरक्षण गर्ने "लोक दोहोरी" को कार्यक्रम नियमित रुपमा हाम्रो मगर समाजले मात्रै गर्दछ महासचिब रोकाले दाबी गरे l मगर संघ, अमेरिकाले यस अघी सन् २००६, २००७ र २००८ मा न्यूयोर्कमा, २००९ मा न्यूजर्सी-अट्लान्टिक सिटीमा, २०१० मा बाल्टिमोरमा, २०११ मा लसएन्जेलस शहरमा र २०१२ मा पुन: बाल्टिमोरमा सफल दोहोरी सँझको सफल मन्चन गरेको थियो ।