अग्निपीडितको रकम प्राध्यापकको खल्तीमा
असार १ । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका प्राध्यापक मधुसुदन यादवले अग्निपीडितका लागि सङ्कलन गरिएको रकम आफ्नै निजी काममा खर्च गरेको रहस्य खुलेको छ ।
औरहीका अग्निपीडितलाई राहत उपलब्ध गराउन क्याम्पसमा कार्यरत सबै प्राध्यापकले एक दिनको तलब भत्ता सङ्कलन गरेर प्राध्यापक यादवको जिम्मा दिएका थिए । तर सङ्कलन भएको करिब ५० हजार रुपैयाँ आगलागी घटना भएको एक वर्ष बितिसक्दा पनि बैंकको खातामा जम्मा नगरिएको सोही क्याम्पसका प्राध्यापक सुरेन्द्रकुमार यादवले खुलासा गरेका हुन् ।
प्राध्यापक यादवले पनि क्याम्पसमा सङ्कलन गरिएको रकम बैंकमा जम्मा गर्न नसकिएको स्वीकारेका छन् । उनले भने,— ‘केही कारणवश बैंकमा जम्मा गर्न सकिएन । अब छिट्टै जम्मा गरिदिन्छु ।’
औरही गाविसमा गत वर्ष जेठ २ गते भएको भीषण आगलागीमा ४६१ घरपरिवारको घरलगायत सबै समान जलेर नष्ट हुँदा करिब एक अर्बभन्दा बढीको क्षति भएको थियो । रासस
प्रकाशित मिति:
June 15, 2013