हिरासतभित्रै थुनुवाको मृत्यु
असार १४ । झापाको दमक इलाका प्रहरी कार्यालयमा एक थुनुवाको मृत्यु भएको छ ।
साइकल चोरीको आरोपमा बुधबार साँझ समातिएका भारत पश्चिम बङ्गाल दिनाजपुर राईगन्ज घर भई हाल दमक–१ बस्ने वर्ष १९ का सुरज राजवंशीको हिरासतभित्रै मृत्यु भएको हो । प्रहरीले समातेको दुई घन्टापछि नै उनको मृत्यु भएको थियो ।
हिरासतभित्रै राजवंशी अचानक मुर्छित भएपछि उपचारका लागि लाइफलाइन अस्पताल लगिएको प्रहरीले जनाएको छ । दमक–११ को एसी मोटरसाइकल ग्यारेजमा काम गर्दैआएका उनलाई ग्यारेज सञ्चालक चिन्तामणि तिम्सिनाले चोरीको आरोपमा प्रहरीमा बुझाएका थिए ।
यसैबीच आज बिहान इप्रका दमकमा बसेको सर्वपक्षीय भेलाले राजवंशीको मृत्युको विषयमा निष्पक्ष छानबिन गर्न नेपाल मानवअधिकार सङ्गठनका पूर्वाञ्चल संयोजक डा केपी सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए । सो समितिमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसार्इँ, जिफन्ट झापाका अध्यक्ष शान्तिराम गौतम, सुमन सेढाईँ, भीम पौडेल र जितन राई सदस्य छन् । रासस
प्रकाशित मिति:
June 27, 2013