परीक्षा नियन्त्रकको लापरबाहीले कक्षा १२ को नतिजा सार्वजनिकमा ढिलाई

परीक्षा लिएको चार महिना बितिसक्दा पनि परिषद्का पदाधिकारी र कर्मचारीबीचको विवादका कारण अहिलेसम्म नतिजा प्रकाशित हुन सकेको छैन ।
विज्ञान विषयको परीक्षाको नतिजा समयमै प्रकाशित नभएका कारण एमबीबीएस अध्ययनका लागि विद्यार्थीहरू वञ्चित हुने अवस्था सिर्जना भएको छ । त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, बीपी मेमोरियल शिक्षण अस्पताल धरानलगायतका कलेजमा एमबीबीएस अध्ययनका लागि प्रतिस्पर्धा गर्न तयारी गरेका विद्यार्थीहरू समयमै नतिजा प्रकाशित हुन नसक्दा समस्यामा परेका हुन् ।
‘परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालको लापरबाहीकै कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो,’ परिषद्का एक उच्च अधिकारीले भने । नियन्त्रक अर्यालले नतिजा प्रकाशित गरेपछि नियन्त्रक पद छाड्नुपर्ने चर्को दबाब परेका कारण ढिलाइ गरेको स्रोतले बतायो । नियन्त्रक र परिषद्का उच्च अधिकारीको लापरबाहीका कारण हजारौं विद्यार्थी मर्कामा परेका छन् ।आजको राजधानीले छापेको छ ।
यस वर्ष कक्षा १२ मा नियमिततर्फ २ लाख ४२ हजार ३ सय २४ र आंशिकतर्फ १ लाख ५५ हजार ७ सय ९१ जनाले परीक्षा दिएका थिए ।
प्रकाशित मिति:
August 09, 2013