चमेलियाको इलेक्ट्रोमेकानिकल ठेक्का तोडियो
साउन ३२ । नेपाल विद्युत् प्राधिकरणले भुक्तानी नदिएपछि चमेलिया जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कोरियाली केएचएनपी कन्सोर्टिएमले एकतर्फी ठेक्का तोडेको छ ।
उसले आयोजना प्रमुख राजेन्द्र मानन्धरलाई बिहीबार पत्राचार गरी यसबारे जानकारी गराएका छन ।
“ठेक्का तोडेको जानकारीमात्र पाएको छु,” मानन्धरले टेलिफोनमा भने, “औपचारिक रूपमा पत्र पाएको छैन ।”
उनले वार्ताबाट समस्या समाधान गर्न अझै समय रहेको बताए ।
केएचएनपीले ठेक्का तोडेपछि आयोजना अन्योलमा परेको छ । कारेवारमा खबर छ ।
प्राधिकरणले ठेक्का सम्झौता पालना नगरेको र समयमा भुक्तानी नदिएको जिकिर गर्दै केएचएनपीले २ साताअघि ठेक्का तोड्ने चेतावनी दिएको थियो । सम्झौतामा दुई साता म्याद दिएर ठेक्का तोड्न पाउने व्यवस्था भएकाले भदौ १४ पछि मात्र यो कार्यान्वयनमा आउनेछ । यसबीचमा सहमति हुन नसके फेरि केएचएनपीसँगै नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ । यसले आयोजनाको समय थपिनुका साथै लागत पनि बढ्नेछ । ७ अर्ब रुपैयाँमा सक्ने लक्ष्य लिइएको आयोजनाको लागत दोब्बर बढेर १३ अर्ब रुपैयाँ पुगिसकेको छ ।
प्राधिकरण र सिभिल ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडका कारण आयोजनाको समय थपिँदै गएको भन्दै केएचएनपीले १ करोड ३० लाख ८० हजार डलर दाबी पेस गरेकोमा परामर्शदाता कम्पनी समनले एक वर्षअघि नै प्राधिकरणलाई ८५ लाख डलर भुक्तानीको सिफारिस गरेको थियो ।
आयोजनाको हाइड्रोलिक, इलेक्ट्रोमेकानिकल, प्रसारणलाइन र सबस्टेसन निर्माण गर्ने गरी सन् २००९ मा प्राधिकरण र केएचएनपीबीच ठेक्का सम्झौता भएको थियो ।
प्रकाशित मिति:
August 16, 2013