करोडौँको चन्दा पत्र थाम्न नसकेर व्यापारीहरु भारत भासिए
भदौ १७ । सरकारले मंसिर ४ गतेका लागि दोस्रो संविधानसभाको निर्वाचन मिति तोकेपछि निर्वाचन हुने या नहुने भनेर मैदानमा लडाई अझै जारी छ ।
सरकारले सेना परिचालन गरेरै भए पनि निर्वाचन गराउने तयारी समेत गरेको बताइन्छ । तर, यथास्थितिमा कुनै पनि हालतमा चुनाव गराउन नदिने घोषणा गरेको नेकपा माओवादी मोर्चाले पनि सरकारले सेना नै परिचालन गरेपनि चुनाव बिथोलेरै छाड्नेमा पुगेको छ ।
यस्तै गञ्जागोलमा रुमलिएर देश अघि बढीरहेकै अवस्थामा निर्वाचनमा भाग लिने दलहरु भने चुनावी खर्च बटुल्न सुरु गरिसकेका छन् ।
उनीहरुले आफूले भनेर लाग्ने ठाउँमा फोन मार्फत नै कुरा मिलाएका छन् भने अलिक ठूला तथा पहुँच बाहिरका उद्योग तथा कम्पनीहरुमा भने लाखौँ सहयोग मागिएको पत्र थमाइएको पाइएको छ ।
राजनीतिक दलका नेताहरुले चुनावी सहयोग भन्दै सहयोग पत्र व्यापारीहरुलाई जबरजस्ती थमाउन थालेपछि व्यापारीहरुमा भने त्रास नै पैदा भएको छ ।
उद्योग तथा कलकारखानाहरुमा १० लाखदेखि ७० लाखसम्म माग गरिएको पत्र लगातार रुपमा पार्टी नै पिच्छे आउन थालेपछि यतिबेला उद्योग कलकारखाना तथा बैंकका सिईओ तथा अध्यक्ष भने धेरै जना भारत भासिसकेको स्रोतले हेलोखबरलाई बताएको छ ।
एक सिमेन्ट कम्पनीलाई नेपाली कांग्रेसले ६० लाख, एमाओवादीले ५० लाख तथा एमालेले ३५ लाख चुनावी सहयोग रकम माग गर्दै पत्र थमाएपछि त्यस कम्पनीका अध्यक्ष अहिले सम्पर्क बिहीन हुन पुगेका छन् ।
स्रोतका अनुसार दिनहुँ झैँ सहयोग रकम माग हुन थालेपछि यतिबेला धेरै व्यापारीहरु नेपाल १ देखि २ महिनासम्मको बिदा लिएर बाहिरिएका छन् ।
यसरी, कम्पनीका प्रमुखहरु नै देश छाडेर सम्पर्क बिहीन अवस्थामा पुगेपछि टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको कतिपय रिन्यू हुन समेत रोकिएको छ भने कति ठाउँमा विज्ञापन बजाएको पैसा समेत रोकिएको बताइन्छ ।
केही समय अगाडी जगदम्बा सिमेन्ट, जगदम्बा छट, जगदम्बा स्टिल लगायत नौँ वटा उद्योग सञ्चालन गर्दै आएको शंकर ग्रुपले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई २० लाख सहयोग दिएको स्रोतको दाबी छ ।
उक्त ग्रुपले प्रचण्ड लगायत कांग्रेस, एमालेका नेताहरुलाई समेत दिनुपर्ने हुन्छ ।
यसैगरी, नर्भिक हस्पिटलका अध्यक्ष वसन्त चौधरीले समेत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २ करोडमाथि सहयोग गरेको स्रोतको दाबी छ । तर यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।
राजनीतिक दलहरुले निर्वाचनकै लागि भनेर लाखौँ लाख चन्दा उठाउन थालेपछि व्यापारीहरु छलिनका लागि भारत भासिन थालेका हुन् ।
भारतीय लगानीका व्यापारीहरु बिदामा भन्दै बाहिरिए पनि नेपालीहरु नै मिलेर सञ्चालन हुँदै आएका उद्योग कलकारखाना भने थप त्यसको मारमा परेका छन् ।
प्रकाशित मिति:
September 02, 2013