राष्ट्रपतिका विषयमा दलहरुबीच किचलो सुरु
मंसिर १५ । राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई यथावत नै राख्ने कि परिवर्तन गर्ने भन्ने विषयमा दलहरुबीच किचलो सुरु भएको छ ।
अहिलेको निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस यादव र झालाई नै निरन्तरता दिने अडानमा उभिएको छ भने एमाले एमाओवादी राप्रपा नेपाल लगायत दलहरु भने फेर्नु पक्षमा छन् ।
राष्ट्रपति पनि ताजा जनादेशका आधारमा चुनिनुपर्ने ती दलहरुको अडान छ भने अन्तरिम संविधानमा संविधान जारी नभएसम्म राष्ट्रपति पद रहिरहने उल्लेख भएको भन्दै कांग्रेसले भने पुरानै राष्ट्रपति र पराष्ट्रपतिलाई निरन्तरता दिने पक्षमा उभिएको छ ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति फेर्न नसकिने संकेत दिईसकेका छन् । संविधानसभाको निर्वाचन सकिएसँगै राष्ट्रपतिका विषयमा टिकाटिप्पणी सुरु भएको अवस्थाममा काँग्रेस महामन्त्री सिटौलाले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपति यथावत् रहने बताए ।
तर एमाले एमाओवादी तथा चौथो ठूलो दल राप्रपा नेपाल भने नयाँ जनादेशमा जानुपर्ने पक्षमा उभिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार पत्रकार सम्मेलन गरेरै राष्ट्रपति र उपराष्ट्रपति फेर्न माग गरेका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि कांग्रेस सभापति सुशिल कोइरालालाई भेटेर सरकार नेतृत्व लिन तयार रहन भनेको भन्दै राष्ट्रपति र उपराष्टर्पति फेर्न भनेको चर्चा छ ।
एमाओवादी पनि नयाँ जनादेशबाट अघि बढ्नुपर्ने पक्षमा अडिग रहेको पाइएको छ ।
यसरी दलहरुबीच नयाँ जनादेशबाट जाने कि अन्तरिम संविधान अनुसार नै भनेर चर्चा चलिरहँदा राष्ट्रपति र उपराष्ट्रपतिले भने नैतिकताका आधारमा पद छाड्दा राम्रो हुने राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ ।
प्रकाशित मिति:
November 30, 2013