किन चुलिंदै छ सेयर बजार
पुस । ब्यांकमा पैसा थुप्रिएपछि सेयर बजार बढ्ने गति थप तीव्र हुन थालेको छ। ब्यांक तथा वित्तीय संस्थामा दिनहुँ लगानीयोग्य रकम थपिएको छ। तर वित्तीय संस्थाले लगानी गर्ने अन्य क्षेत्रको तत्कालै पहिचान गर्न सकेका छैनन्। अहिले वित्तीय संस्थासँग ७० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सक्ने पैसा छ।
ट्रेजरी बिल्स र अन्तरब्यांक ब्याजदर एक प्रतिशतभन्दा तल रहेकाले यी क्षेत्रमा लगानी गरेर ब्यांकलाई कत्ति पनि फाइदा छैन। घरजग्गा कारोबारले गति लिएको छैन। यसबाट अहिले लगानीका लागि ब्यांक तथा वित्तीय संस्थाले सेयर बजारमा पैसा खन्याउन थालेका हुन्। एनआईसी एसिया ब्यांकले सोमबार सेयर धितो राखेर ऋण प्रवाह गर्ने विज्ञापन प्रकाशित गरेको छ।
यसअघि सार्वजनिक रूपमा फाइनान्स कम्पनी र विकास ब्यांकले मात्र सेयर कर्जाका लागि विज्ञापन प्रकाशित गरेका थिए। अब वाणिज्य ब्यांकले समेत सेयर कर्जा उपलब्ध गराउन सार्वजनिक रूपमै आह्वान गर्न थालेका छन्। आगामी दिनमा थप वाणिज्य ब्यांकले समेत सेयर धितो राखेर ऋण दिने विज्ञापन निकाल्ने सम्भावना रहेको ब्यांकर बताउँछन्। यसको अर्थ, ब्यांकमा लगानीयोग्य रकम थन्किएको छ।
तर लगानी गर्ने क्षेत्र सीमित छन् भन्ने नै हो। अहिले वित्तीय संस्थालाई अल्पकालीन र मध्यकालीन लगानी गर्न उपयुक्त क्षेत्र सेयर बजार साबित भएको छ। सेयर बजार यसअघि निकै तल्लो बिन्दुमा पुगेकाले अहिलेको अवस्थामा लगानी गर्दा खासै जोखिम छैन्। अधिकांश सेयर धितो राखेर धितो मूल्यांकनको ६० प्रतिशतभन्दा कममा मात्र ऋण उपलब्ध गराइरहेका छन्। बजार बढ्नुको अर्को मुख्य कारण राष्ट्र ब्यांकले बासेल-३ लागू गर्ने जानकारी गराउनु हो।
बालेस-३ लागू हुने भएपछि वाणिज्य ब्यांकको पुँजी बढ्नेछ।
वाणिज्य ब्यांकले आगामी ६ वर्षभित्र चुक्ता पुँजी अर्बभन्दा बढी बनाउनुपर्नेछ। बाध्यकारी रूपमा पुँजी बढाउने प्रावधान नगरिए पनि बासेल-३ मा भएका कतिपय प्रावधान कार्यान्वयनमा ल्याउँदा व्यापार विस्तार गर्न अनिवार्य रूपमा पुँजी बढाउनुपर्ने बाध्यता वाणिज्य ब्यांकलाई पर्नेछ। अब ब्यांकले बोनस सेयर र हकप्रद जारी गरेर चुक्ता पुँजी बढाउने सम्भावना अधिक छ।
बासेल-३ विश्वभरका वित्तीय संस्थालाई सबल बनाउने नियम हो। यसले अन्तर्राष्ट्रियस्तरमै वित्तीय संस्थाका आधारभूत नियम र प्रावधानमा एक रूपता ल्याउने काम गर्नेछ। सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई ब्यांकले पुँजी बढाउनुपर्ने खबरले सेयर बजारमा उछाल आएको बताउँछन्। 'यसबाहेक वित्तीय संस्थासँग लगानीयोग्य रकम पर्याप्त छ। 'ट्रेजरी बिल्स र अन्तरब्यांक ब्याजदर ज्यादै न्यून भएकाले वित्तीय संस्थाले समेत सेयर कर्जा प्रवाहमा चासो देखाउन थालेका हुन्', उनले भने।
बजार विश्लेषकका अनुसार अहिले सेयर बजारका लागि निकै सकारात्मक अवस्था छ। भर्खरै चुनाउ सम्पन्न भएर खुला अर्थतन्त्रका पक्षपाती दलले वर्चस्व जमाएका छन्। यसले लगानीकर्ताको आत्मविश्वास निकै बढाएको छ। समयमै संविधान जारी हुने, व्यक्तिगत सम्पत्तिको सुरक्षा हुने विश्वास आमलगानीकर्तामा बढेको छ।
यसबाहेक ब्यांकमा चुलिएको तरलताले निक्षेपमा ब्याजदर पाँच प्रतिशतभन्दा तल झरेको छ। ब्यांकमा पैसा राख्नुभन्दा सेयरमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले निक्षेपकर्ता धमाधम ब्यांकबाट पैसा झिक्दै सेयरमा लगानी गर्न थालेका छन्। यसबाट बजारमा सेयरको माग धेरै र आपूर्ति कम हुन थालेको छ।
माग धेरै भएपछि मूल्य बढ्ने अर्थशास्त्रको सामान्य नियम अहिले सेयर बजारले देखाउन थालेको विश्लेषक बताउँछन्। वित्तीय संस्था मर्जमा जाँदा सेयर संख्या घट्दो क्रममा छ। कतिपय संस्थाले मर्जमा जाने निर्णय गरेकाले सेयर कारोबार रोक्का भएको अवस्था छ। ग्लोबल आईएमई र कमर्ज एन्ड ट्रस्ट ब्यांक मर्जमा जान कारोबार रोक्का गरिएको छ।
अन्य थुप्रै विकास ब्यांक र फाइनान्स कम्पनीसमेत मर्ज हुनेक्रममा रहेकाले कारोबार रोकिएको अवस्था छ। यसबाट आपूर्ति पक्ष केही कम हुन गएको छ। यसबाहेक सेयर बजार घटबढ हुँदा निश्चित साइकल पूरा गर्नुपर्ने हुन्छ। विगत पाँच वर्षदेखि घट्दो क्रममा रहेको बजार गतवर्षदेखि सामान्य रूपमा माथि जान थालेको हो। अहिले यसको गति बढेको मात्र हो भन्छन् विश्लेषक।
एकै दिन ३८ अंकको बढोत्तरी
सेयर बजार परिसूचक नेप्से ३८ अंकले बढेर सोमबार ७७१.२ बिन्दुमा पुगेको छ। प्राविधिक समस्याका कारण बजार एक घन्टा ढिलो खुलेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। बजार खुल्नुअगावै स्टकले आधा घन्टा ढिलो साढे १२ बजेदेखि कारोबार हुने सूचना दिएको भए पनि बजार खुल्दा एक बजेको थियो। बजार खुलेपछि एकाएक नेप्से परिसूचक चुलिन थालेपछि स्टकले तीन पटक सर्किट ब्रेकर लगायो।
तेस्रो पटकको सर्किटमा कारोबार नै बन्द गर्नुपर्ने नियम छ। यस दिन करिब ५४ मिनेटमात्र सेयर कारोबार भयो। दुई बजेर ३९ मिनेटमा बजार बन्द भए पनि कारोबार हिसाब गर्दा भने एक घन्टाभन्दा पनि कम हुन आउँछ। सोमबार ९६ कम्पनीको ३३ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ।
नेप्सेका सबै उपसूचक हरियो भएको छ। हरियोले बजार बढेको संकेत गर्छ। यस दिन प्रतिशतका आधारमा सबैभन्दा बढी कमाउनेमा प्राइम ब्यांक परेको छ। यो ब्यांकको सेयर भाउ १० प्रतिशतले बढेको छ। - अन्नपूर्ण दैनिकबाट
प्रकाशित मिति:
December 17, 2013