मन्त्रीपरिषदले के के गर्यो निर्णय ?
पुस ५ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहन्यायाधिवक्ता महेशकुमार थापालाई न्यायिक महान्यायाधिवक्ताको पदमा बढुवा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले अछाम जिल्लास्थित बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि साउदी विकास कोषबाट करिब रु दुई अर्ब ९२ करोड पाँच लाख सहायता प्राप्त गर्न विद्युत् विकास विभागका महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरी उक्त संस्थासँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय लिइएको जानकारी दिए।
बैठकले राष्ट्रिय सङ्ग्रहालयको हीरक जयन्तीको उपलक्ष्यमा रु एक हजार दरको चाँदीको स्मारिका सिक्का बढीमा तीन हजार थान र नेपाल स्काउटको हीरक महोत्सवको उपलक्ष्यमा रु ५० दरको कुप्रुनिकेलको सिक्का बढीमा चार हजार थान सार्वजनिक गर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोगको कार्यावधि विसं २०७१ असार मसान्तसम्म बढाउने निर्णय गरेको छ।
नेपाली सेनामा रिक्त रथी पदमा उपरथी प्रदीपविक्रम राणालाई बढुवा गरी बलाध्यक्ष रथीको पदमा पदस्थापना गर्ने र रथी पवनबहादुर पाण्डेलाई बलाधिकृत कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ।
वृद्ध सहारा आश्रम तानसेन पाल्पालाई विभिन्न सर्तहरु पालना गर्ने गरी ०.३ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय पनि बेठकले गरेको छ।
यही पुस ६ र ७ गते नेपाल भारत वाणिज्य स्तरमा हुने अन्तर सरकारी समितिको बैठक काठमाडौँ आयोजना गर्ने र सो बैठकमा नेपाल सरकारको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी बन्ने निर्णय पनि लिइएको छ। रासस
प्रकाशित मिति:
December 20, 2013
