१५ जनाको ज्यान लिइसकेको ध्रुवे हात्ती फेरि फर्कियो, पुनः २ को ज्यान लियो
मंसिर २८ । १५ जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई मार्नका लागि सेना प्रहरी खटाएर गत वर्ष एकैपटक ६८ वटा गोली हानिएको भएपनि पुनः फर्किएको छ ।
ध्रुवेले बुधबार बिहान रौतहट लक्ष्मीनियाँ गाविसमा दुईजनाको ज्यान लिएर जंगल पसेको छ। आक्रमणबाट मृत्यु हुनेमा बाबुछोरा गोविन्द र सुमन गिरी छन्।
चितवन राष्ट्रिय निकुञ्जका पशुचिकित्सक तथा प्राविधिकसहित पाँचजनाको टोली बुधबार रातिदेखि नै ध्रुवेको खोजीमा हिँडेको अन्नपूर्णमा खबर छ ।
निकुञ्जका अधिकारीले रौतहटमा देखिएको हात्ती ध्रुवे भएको पुष्टि नगरे पनि स्थानीय बासिन्दाले ध्रुवे नै भएको बताइरहेका छन्। ध्रुवेले एकै वर्षमा १० जनाको ज्यान लिएको थियो। तीमध्ये चारजना लक्ष्मीनियाँपारिको सफहीका थिए। स्थानीय बासिन्दाका अनुसार गत वर्ष पनि यी दुई गाउँबीचको बकैया खोलाबाट ध्रुवे आवतजावत गर्थ्यो।
हात्तीविज्ञका अनुसार लखेटिएको र घाइते हात्तीमा जहिल्यै बदलाको भावना हुन्छ। अघिल्लोपटक आक्रमण भएको स्थान र हिँडेको बाटो उसले पहिल्याउँछ। स्मरणशक्ति तीक्ष्ण भएको हात्तीले आफूलाई आक्रमण गर्ने मान्छे र ठाउँसमेत चिन्छ। 'हात्तीमा सम्झने शक्ति पनि धेरै भएकाले बदला भाव पनि धेरै हुन्छ, उसलाई जति धेरै जिस्क्याइन्छ उति नै धेरै आक्रामक हुन्छ', हात्तीमा विद्यावारिधि गरेका नरेन्द्रबाबु प्रधानले भने।
एकैपटक ६८ गोली लाग्दा मरेको आशंका गरिए पनि मृत हात्ती भेटिएको थिएन। 'धेरै खोजी गरियो, अहिलेसम्म मरेको हात्ती भेटिएको छैन, ध्रुवे फर्किएको भन्ने खबर हामीलाई पनि आएको छ', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता महेश्वर ढकालले भने।
प्रकाशित मिति:
December 13, 2013