प्रचण्डलाई झाप्पु हान्ने पदमकी आमा पाँच दिनदेखि हराइन्
पदमकी आमा, फोटोः भिम भारती |
राजधानीको धापासीबाट उनी ५ दिन अगाडीदेखि हराएको उनका परिवारजनले जानकारी दिएका छन् ।
हाल धापासी १ स्थित बसुन्धरामा छोराको डेरामा बस्दै आएकी उनी कहाँ गइन भन्ने केही पत्तो लाग्न सकेको छैन । उनलाई छोरा पदम र अनुपले १० दिनअघि मात्र राजधानी ल्याएका थिए ।
सशस्त्र द्वन्द्वका बेला सुरक्षाफौजले घर जलाइदिएपछि मानसिक सन्तुलन गुमाउन पुगेकी थिइन् । सशस्त्र द्वन्द्वका बेला माओवादीको समर्थन जनाएको आरोपमा पति प्रेमबहादुरलाई सुरक्षाफौजले कुटपिट गरेको थियो । छोराछोरी पनि भूमिगत भएका कारण ०५९ मंसिरमा घर जलाइदिएपछि उनको मानसिक अवस्था बिग्रेको थियो । परिवारजनका अनुसार गत वर्ष एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष दाहाललाई झापड हानेपछि कार्यकर्ताबाट रगताम्य हुनेगरी छोरा पदम कुटिएको खबरले उनको बिरामी बल्झिएको थियो ।
उनको पाटनस्थित मानसिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि पैसाको खोजिम बाहिर निस्किएको अवस्थामा आमा हराएको पदमले जनाएका छन् ।
उनको खोजीका लागि प्रहरीले राजधानीभित्रका सबै एकाईलाई पत्राचार गरेको बताइएको छ । उनका परिवारले पनि खोजिमा सहयोग गरीदिन सबैसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति:
December 14, 2013