पाल्पामा बस दुर्घटनाः १४ को मृत्यु ८ घाइते (मृतकको नामसहित)

अपडेटः माघ २३ ।
पोखरा बाट भैरहवा जाँदै गरेको लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिदिपानी स्थित भालुखोलामा बिहीबार बिहान सवा २ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाईते भएका घाईते छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार सनाखत भएका मृतकमा गाडी धनी भिमगिठे बुर्तीबाङ्ग बाग्लुङ्गका २८ वर्षीय मोहन केसी, चालक पाल्पा मुझुङ्गका ३३ बर्षीय रोमनसिं सारु, गुल्मी सिमिचौर–६ का डिङ्गबहादुर बस्नेत, भरतपोखरी–१ कास्कीका बुद्धिबहादुर बिक, मोरभाङ्ग– ९ रुकुमका ३८ वर्षीय राजबहादुर गुरुङ्ग, पर्वत ठुलीपोखरीका बाबुराम आचार्य, पर्वतकै फौलालाकुरीका ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्टराई, मोरङ्ग बिराटनगरका ४९ बर्षीय गोपाल ढकाल, बर्दिया मगरागढी–९ का २१ बर्षका बिराटसिं ठकुरी र मगरागढीकै रामवली रहेका छन् ।
अन्य मृतकको सनाखत हुन बाँकि छ । मृतक मध्ये १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घाईतेहरुको पाल्पा स्थित युनाईटेड मिशन अस्पताल तानसेन र लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक शिबकुमार श्रेष्ठले जानकारी दिए ।
घाईते मध्ये स्याङ्गजा चिन्नेबास ८ का ३७ वर्षीय डोल बहादुर राना, बर्दीया मगरागढी–९ का ३९ बर्षीया कमलासिं ठकुरी, पुतलीबजार–२ का १९ वर्षीय दिपक कुवँर र रुकुम मरवाङ्ग–८ का ४३ वर्षीय नर बहादुर बुढामगरको युनाईटेड मिसनअस्पताल तानसेनमा र अरु घाईतेको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । प्रभासमा उपचार हुनेहरुमा राममन्दिर बुटवलका २४ बर्षीय प्रदीप केशरी, पोखरा न्युरोडकी बर्ष २८ की चन्दा वली र बाग्लुङ्ग भकुण्डेका २२ बर्षीय सूर्य खत्री रहेका छन् ।
सिद्धार्थ राजमार्गको आर्यभञ्याङ्ग देखि झण्डै ३ किलोमिटर पर भालुखोलाभन्ने स्थानबाट बस झण्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनापछि घाईते भएर बाटोमै चिच्याईरहेकी पोखरा न्युरोडकी चन्दा वलीलाई भारतीय नम्बरको ट्रकले उद्धार गरेर स्थानीयलाई खबर गरेको थियो । त्यसपछि राम्दीघाटमा मलामी गएका स्थानिय आर्यभञ्याङ्गबासीहरुले घाईतेहरुको उद्धार गरेका थिए । उनीहरुकै खबरपछि जिल्ला प्रहरी कार्यालय पाल्पा, राम्दी प्रहरी चौकी, तानसेन स्थित नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले बिहान ९ बजेसम्म घाईतेको खोजी र मृतकको शव घटनास्थल बाट सडकमा ल्याएका थिए ।
सडक बाट बस खसेको स्थानमा पुग्न भीर बाटो भएको र डोरीको सहायताले २५ मिनेट तल जानुपर्ने भएकाले पनि घाइतेको उद्धार गर्न कठिन भएको थियो । उद्धारकर्मीहरुले मोबाइल र हातेलाईटको सहयोगमा घाईतेको उद्धार गरेका थिए ।
प्रकाशित मिति:
February 06, 2014