नवलपरासीको नाकामा भारतले नियम विपरित पर्खाल लगायो
माघ २३ । नेपाल–भारत सन्धी विपरित नवलपरासीको महशेपुर नाकामा रहेको दशगजा क्षेत्रमा भारतले पर्खाल लगाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले वर्षौदेखि नेपाल–भारतको प्रवेशका लागि प्रयोग गरिंदै आएको प्रमुखद्वार भन्दा चार मिटरअघि बढेर पर्खाल लगाएको हो ।
इमेज च्यानलले सार्वजनिक गरेको समाचार अनुसार प्रमुखद्वार भन्दा चार मिटरअघि बढेर एसएसबीले पर्खाल र सुरक्षाकर्मी बस्ने सेन्ट्री निर्माण गरेका छन् ।
भारतीय पक्षले सीमा क्षेत्रमा नेपालीहरुमाथि दुःख दिने तथा दुई देशबीचको सन्धी सम्झौता विपरित विभिन्न क्रियाकलाप हुँदै आएका छन् ।
दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको सम्बन्धमा नेपाल सरकारको माथिल्लो निकायमा जानकारी गराइएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएको खबरमा उल्लेख छ ।
अहिलेसम्म नेपाल सरकारले भने कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
भारत दक्षिण एसियामा सम्पन्न राष्ट्रको रुपमा अघि बढीरहेको मुलुक भएपनि उसँग सीमाना जोडिएका कुनै पनि देशबीच सम्बन्ध भने राम्रो छैन ।
नेपाललगायत पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका तथा चीनसँग पनि भारतको राम्रो सम्बन्ध छैन ।
भारतीय पेलाहा नीतिका कारण छिमेकी सबै राष्ट्रहरु उप्रति रुष्ट छन् भने भारतले छिमेकीमाथि सहयोगी तथा सद्भावको व्यवहार भन्दा पनि स्वार्थपूर्ण र पेलाहा व्यवहार गर्दै आएको घटनाक्रमहरुले देखाएको छ ।
प्रकाशित मिति:
February 06, 2014