रङ्हरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै
चैत २ । रङैरङको पर्व होली आज हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन फागू पूर्णिमा अर्थात होली पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा आज मनाइने यो पर्व तराई क्षेत्रमा भने भोलि मनाइन्छ ।
धार्मिक मान्यता अनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्नो विष्णुभक्त छोरा प्रल्हादलाई मार्नका लागि अग्नी दहन नहुने वर पाएकी आफ्नी वैहिनी होलिकालाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर आगोमा बसेकोमा होलिका जलेर भष्म भएको र प्रल्हादलाई केही नभएको खुशीयालीमा होली पर्व मनाउन थालिएको शास्त्रीय वर्णन रहेको छ ।
होलिका दहनकै खुशियालीमा एकापसमा रङ र अविर लगाएर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ । राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ ।
यता, प्रहरीले मर्यादित रुपमा होली मनाउन आग्रह गरेको छ । इच्छा विपरित लोला हान्ने तथा रंग दलेमा सार्वजनिक अपराध अन्तर्गत कारबाही समेत हुनसक्छ । होलीलाई मर्यादित बनाउन प्रहरीले विशेष सतर्कता बढाएको जनाएको छ ।
प्रकाशित मिति:
March 16, 2014