इच्छा विपरित लोला हान्ने, रंग दल्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही

होलीमा कसैको इच्छाविपरीत फोहर पदार्थ फाल्ने, जबर्जस्ती लोला हान्ने, हुलहुज्जत गर्नेलगायत गतिविधिमा संलग्नता पुष्टि भए ५ सयदेखि ५० हजारसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । होली पर्वलाई व्यवस्थित गर्न देशभर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कसैको इच्छाविपरित गतिविधि गर्ने व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले उपत्यकासहित देशभर प्रहरी तैनाथी बढाएको हो । जबर्जस्ती लोला हान्ने, अबिर दल्ने, सर्वसाधारणलाई दुःख दिने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, गाँजा, भाङलगायत लागू पदार्थ सेवनजस्ता गतिविधि नियन्त्रणमा प्रहरीलाई सक्रिय बनाइएको छ ।
प्रहरीले एक अर्काप्रति आत्मीयता तथा हर्षोल्लासका साथ होली पर्व मनाउन आग्रह समेत गरेको छ ।
इच्छाविपरीत बाटोमा हिँडिरहेकालाई दुःख दिने, हुलहुज्जत गर्नेलगायत अवाञ्छित क्रियाकलाप गर्ने व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएर कसूरअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले विकृति नियन्त्रण गर्न गस्ती तथा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको जनाइएको छ । त्यस्तै दिउँसै मापसे गरी सवारी चलाउनेमाथि कारबाही गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा समेत जनशक्ति परिचालन गरेको छ ।
प्रकाशित मिति:
March 16, 2014