बाबुराम भट्टराईको चर्को आलोचना, पार्टी पद्धति विपरित गएको आरोप

भट्टराई निवास सानेपामा बसेको बैठकमा उनले केही समयअघि दिएको पार्टी पुनर्गठन नभए नया शक्ति जन्मने भन्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा बोल्ने नेताहरुले भट्टराईले पार्टी पद्धति भन्दा बाहिर गएर बोलेको भन्दै चर्को आलोचना समेत गरेका थिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना विचारहरु व्यवस्थित रुपले पार्टीमा राखेमा पार्टीको विचारमा एक रुपमा हुने भन्दै अव्यवस्थित रुपमा राखिएको विचारले समस्या पैदा हुनेमा जोड दिएका थिए । अध्यक्ष दाहालले भट्टर्रालाई हरेक विषयमा पार्टी भित्रै छलफल चलाउन आग्रह समेत गरेका थिए । ‘तपाईले उठाउनु भएको विषयमा पार्टी भित्र छलफल गर्दै अघि बढ्ने कुरा त छदैंछ’ अध्यक्ष दाहालको भनाई उदृत गर्दै एक नेताले भने, ‘तर तपाई पनि पार्टी पद्धति विपरित जानु भएन ।’
बैठकमा भट्टराईले अस्पष्ट रुपमा पार्टी पद्धतिलाई मिचेर विचार राखेको भन्दै आलोचना गरिएको थियो ।
‘विचार राख्ने पार्टी विधि पद्धति हुदाहुदै उहाले आफ्ना कुरा राख्नुभया’ पार्टी प्रवक्ता दीनानाथ शर्माले भने, ‘त्यसै विषयमा छलफल केन्द्रीत भयो ।’ बैठकमा भट्टराईले राखेको विचार पार्टीमा व्यवस्थित रुपमा आएको भए पुजी हुने भन्दै बाहिर आएको भनेर कुरा उठेको समेत शर्माले जानकारी दिए ।
नीजि विचार धारणा राख्न भने सबैले पाइने रहेको समेत उनले बताएका छन् । ‘भट्टराईले जुन कुरा राख्नु भयो आफ्ना नीजि विचारहरु राख्नु भएको छ’ शर्माले भने, ‘नीजि विचार तथा आफ्ना कुरा राख्न नपाइने नै भन्ने छोइन, तर पार्टी विधि तथा पद्धतिका विषयमा भने अलिक बढी बैठकमा कुरा उठेको छ ।’
बैठकमा नेता भट्टराईले भने आफूले अहिले नै नेतृत्व परिवर्तनको कुरा नगरेको बताएका थिए ।
गत साता नेता भट्टराईले एमाओवादी पुर्नठन नभए नया शक्ति जन्मने अभिव्यक्ति दिएका थिए । सो क्रममा भट्टराईले अध्यक्ष दाहाल रुपान्तरण नभएको र पार्टी पुनर्गठनको लागि टालटुले बाटो अपनाएको आरोप लगाएका थिए ।
प्रकाशित मिति:
March 17, 2014