परीक्षा केन्द्र मर्यादित नभएपछि केन्द्रध्यक्ष निलम्बनमा
चैत्र ९ । परीक्षाकेन्द्र मर्यादित बनाउन नसकेपछि आइतबार रौतहटको एक परीक्षा केन्द्रका केन्द्रध्यक्ष नै निलम्बनमा परेका छन् । अनिवार्य गणित विषयको परीक्षाका क्रममा परीक्षाकेन्द्र मर्यादित बनाउन नसकेपछि सरस्वती उच्च मावि मलाहीटोलकाका केन्द्राध्यक्ष वीरेन्द्र झालाई परीक्षा समन्वय समितिले
जिम्मेवारीबाट बर्खास्त गरेको प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए ।
परीक्षा केन्द्रभित्र गेसपेपर र उत्तर लेखिएका थिनपेपर भेटिएपछि उनलाई कारबाही गरिएको बताइएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षा शुरु हुनु पहिले नै सबै केन्द्राध्यक्षहरुलाई परीक्षा शान्तिपूर्ण र मर्यादित बनाउन ३५ बुँदे आचारसँहिता जारी गरेको थियो । आचारसंहिता पालना नगर्ने केन्द्राध्यक्ष परिवर्तन गरी नयाँ
केन्द्राध्यक्ष तोक्न कार्यालयले पहिले देखी नै वैकल्पिक केन्द्राध्यक्षको व्यवस्था समेत गरेको छ ।
रौतहटमा यस वर्ष ८६ वटा विद्यालयका नियमित तर्फका कुल ८ हजार ७ सय १८ विद्यार्थी तथा एक्जाम्टेड तर्फ २ हजार ६१ विद्यार्थी परीक्षामा सहभागी छन ।
प्रकाशित मिति:
March 23, 2014