रामचन्द्र पौडेलले कार्यबाहक नपाएपछि गुट बनाउने थालनी

पसभापति पौडेल कोइरालासँग असन्तुष्ट नेताहरूलाई समेटेर छुट्टै गुट बनाउने तयारीमा लागेका छन् । आकांक्षी भए पनि मन्त्री बन्न नपाएका अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीसहितका केन्द्रीय नेतालाई सहभागी गराई उनले छुट्टै समूह बनाउन लागेको नयाँ पत्रिकामा खबर छ ।
‘पार्टीमा निरन्तर काम गरे पनि पौडेलजीलाई उचित जिम्मेवारी दिइएको छैन,’ पौडेलनिकट स्रोतले भन्यो, ‘शक्ति देखाउन केही नेता वरिपरि हुनुपर्ने रहेछ । त्यस्तै भए उहाँको पनि छुट्टै शक्ति बन्छ ।’
संसदीय दलको चुनावमा सहयोग गरेपछि आफूले कार्यवाहक पाउने सहमति भएको, तर डेढ महिनासम्म पनि सभापति कोइरालाले बेवास्ता गरेको भन्दै पौडेल असन्तुष्ट बनेका हुन् । ‘संसदीय दलको नेतामा सहयोग गर्दा उपसभापतिलाई कार्यवाहक दिने ११ बुँदे सहमति भएको थियो,’ पौडेलनिकट स्रोतले भन्यो, ‘तर, सभापतिले कार्यवाहक दिन आलटाल गर्दै आउनुभएको छ । त्यसैले उपसभापति आजभोलि बालुवाटार पनि जान छाड्नुभएको छ ।’
सभापति कोइराला तत्काल कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिने पक्षमा नरहेको बताइन्छ ।
प्रकाशित मिति:
March 23, 2014