एक्सपी बन्दको दिनगन्ती सुरु, आग्रह नमान्नेको ढाटा खतरामा

माइक्रोसफ्टको एक्सपीको अन्यको घोषणापछि पीसी अनरले सेक्युरिटी अपडेट र टेक्निकल सपोर्ट पाउने छैनन् । माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा सुरक्षा प्रणाली बलियो बनाएको हुन्छ । विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर, भाइरस र अरू त्यस्ता पाइरेटेड सफ्टवेयरबाट बचाउन उसले अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध गराउँछ । त्यस्तै बजारमा विकास भएका सफ्टवेयरलाई इन्स्टल गर्न सघाउने गरी उसले ओएसलाई अपडेट गराइरहेको हुन्छ ।
यस्तो अफिसियल सेक्युरिटी सेवा उपलब्ध नहुँदा पीसीमा ह्याकरको पहुँच सजिलै पुग्न सक्छ । त्यस्तै भाइरस, मालवेयर, चोरी गर्न सघाउने सफ्टवेयर पठाएर साइबर क्रिमिनलले कम्प्युटरका डाटा चार्न/नष्ट गर्न सक्छन् । त्यस्तो अवस्थाबाट बचाउन एन्टिभाइरसले पनि काम गर्दैन । त्यस्तै एक्सपीमा इन्स्टल गरिएका कतिपय सफ्टवेयरले एक्सपी ओएसमा काम गर्दैनन् । माइक्रोसफ्टका अनुसार पछिल्ला ओएसका
लागि बनाइएको नयाँ अफिस प्याकेजले यसमा काम गर्दैन । कतिपय पीसी हार्डवेयर उत्पादकले एक्सपीलाई सपोर्ट गर्ने हार्डवेयर उत्पादन गर्न छाडिसकेका छन् । त्यसले गर्दा ड्राइभर लाग्ने हार्डवेयर पीसीमा जोड्न सकिने छैन ।
माइक्रोसफ्टले आफ्नै सिस्टमका लागि विकास गरेको सित्तैमा उपलब्ध हुने सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन । एक्सपी युजरले अपि्रल ८ देखि सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिटको प्रयोग गर्न सक्ने छैनन् ।
अमेरिकाको सिलिकन भ्यालीमा रहेको सेक्युरिटी सफ्टवेयर उत्पादन गर्ने कम्पनी सिम्यान्टिक कर्पोरेसनमा पि्रन्सिपल इन्जिनियरका रूपमा काम गर्दै आएका नेपाली शंकर उप्रेेती सक्कली विन्डोज प्रयोगकर्ताले अब एक्सपीको ठाउँमा विन्डोज ७ भन्दा पछिल्लो भर्सन अपग्रेड गर्नैपर्ने बताउँछन् । 'यसैलाई निरन्तरता दिँदा कम्प्युटरमा रहेको डाटा नष्ट हुने/चोरिने रिस्क धेरै हुन्छ, उनी भन्छन्, माइक्रोसफ्टले सपोर्ट नगरे पनि अरू धेरै प्रकारका समस्या आइरहन्छन् ।'
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । सर्वेक्षणका अनुसार विन्डोजका अहिलेसम्म आएका सबै भर्सनमध्ये यसलाई सर्वाधिक मनपराइएको थियो । पीसीबारे अनुसन्धान गर्ने कम्पनी कार्टनरका सोध उपाध्यक्ष माइकल सिल्भरलाई उद्धृत गर्दै बीबीसीले बताएअनुसार माइक्रोसफ्टले मृत घोषणा गर्ने दिनसम्म संसारका २० देखि २५ प्रतिशत कम्प्युटरमा यही ओएस हुनेछ । लामो समयसम्म एउटै संस्करण प्रयोग भएको पनि यही हो । नेपालमा पनि यस भर्सनको प्रयोग अत्यधिक छ । अधिकांश सरकारी कार्यालय/संघसंस्थामा यही भर्सनको प्रयोग भइरहेको छ । यहाँ अधिकांश पाइरेटेड सफ्टवेयर प्रयोग हुने भएकाले विभिन्न समस्या भोग्दै आएका प्रयोगकर्तालाई माइक्रोसफ्टको सहयोग नहुँदैमा खासै फरक भने पर्ने छैन ।
सक्कली विन्डोज प्रयोगकर्ताले भने यसपछि आफ्नो पीसीमा विन्डोजको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । उनीहरूले विन्डोज ८ या ९ भर्सन प्रयोग गर्न सक्नेछन् । यिनमा सुरक्षाको प्रबन्ध निकै मजबुत गरिएको माइक्रोसफ्टको दाबी छ । नयाँ अपरेटिङ सिस्टमको आन्तरिक कार्यप्रणालीमा ह्याकरहरूको पहुँच सजिलै पुग्दैन ।
नयाँ भर्सनको विन्डोज ७ राख्न कम्प्युटरमा केही रिक्वायरमेन्ट भने पूरा गर्नुपर्नेछ । माइक्रोसफ्टका अनुसार यो भर्सन इन्स्टल गर्न १ गिगाहर्जभन्दा फास्ट वा ३२ विट वा ६४ विटको प्रोसेसर हुनुपर्छ । त्यस्तै १ जीबी र्याम (३२ बिट) वा २ जीबी र्याम (६४ बिट) आवश्यक पर्छ । कम्प्युटरमा १६ जीबीभन्दा बढी स्पेस भएको हार्ड डिस्क चाहिन्छ । त्यस्तै निश्चित फिचर प्रयोग गर्न अतिरिक्त रिक्वायरमेन्ट पनि चाहिन्छ ।
माइक्रोसफ्टले एक्सपी प्रयोगकर्तालाई आफ्नो पीसी अपग्रेड गर्न भनेको छ । उसले विन्डोजको नयाँ भर्सनका लागि रिक्वायरमेन्ट नपुगे नयाँ पीसी किन्न सुझाएको छ ।
माइक्रोसफ्टले विन्डोज एक्सपीसँगै अफिस २००३ को पनि अन्त्य गरेको घोषणा गरेको छ । त्यसै दिनदेखि यस प्रोडक्टलाई दिइने सपोर्ट बन्द गर्नेछ । त्यसपछि अफिसको यस भर्सनमा माइक्रोसफ्टको अनलाइन कन्टेन्ट अपडेट, माइक्रोसफ्टबाट सफ्टवेयर अपडेट, हानिकारक भाइरस, स्पाइवेयर र अरू मालिसियस सफ्टवेयरबाट जोगाउने सेक्युरिटी अपडेट उपलब्ध हुने छैन । तपाईँ पनि आफ्नो पीसीको ओएस अपग्रेड गर्न तयार भइहाल्नुस् ।- कान्तिपुरबाट
प्रकाशित मिति:
March 14, 2014