प्रचण्ड, बाबुराम र वैद्यलाई पक्राउ गरेर देखाउन दुवै माओवादीको चुनौती
कार्यकर्ता पक्राउप्रति दुवै माओवादीको आक्रोश
चैत्र १८ काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले सर्वसाधरा कार्यकर्तालाई पक्राउ नगर्न आग्रह गर्दै हिम्मत भए आफूहरुलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

यसअघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा माओवादी अध्यक्ष मोहन वैद्यले युद्धकालिन घटनामा आफ्ना कार्यकर्ता पक्राउ नगर्न आग्रह गर्दा समेत सरकारले नटेरेपछि दुवै माओवादीले सार्वजनिक रुपमै सरकारलाई चुनौती दिएका छन् ।
एमाओवादी बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यकर्ता भन्दा पनि आफूविरुद्ध नै मुद्धा चलाउन चेतावनी दिए । नेकपा माओवादी अध्यक्ष वैद्यले पनि हिम्मत भए प्रचण्ड, बाबुराम र आफूलाई जेल हालेर देखाउन ठाडो चुनौती दिएका छन् ।
एमाओवादी नेता भट्टराईले द्वन्द्वकालिन घट्नालाई लिएर छुट्टाछुट्टै रुपमा गिरफ्तारी गर्नुको कुनै औचित्य नभएको भन्दै द्वन्द्वकालका घट्ना सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो नलगाउने भए आफूविरुद्ध मुद्दा चलाउन चेतावनी दिए ।
गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेलको रिहाई माग गर्दै दबाव दिन जिल्ला प्रहरी कार्यालय अगाडि सोमबार आयोजना गरिएको विरोध सभामा बोल्दै भट्टराईले गिरफ्तारी गर्नु भनेको शान्ति सम्झौता विपरित भएकाले मेलमिलाप आयोगबाटै टुंगो लगाउनु पर्ने समेत जनाए ।
कार्यक्रममा भट्टराईले युद्ध सुरु गरेको तात्कालिन माओवादी जनसरकार प्रमुखको हैसियतले सबै घट्नाको जिम्मेवारी आफुले लिने भन्दै कार्यकर्ताको गिरफ्तारी रोक्न माग समेत गरेका छन् ।
उक्त कार्यक्रममा भट्टराईले रिहा नभए घटनाले अर्को रुप लिन सक्ने चेतावनी समेत दिए ।
यता, माओवादी अध्यक्ष वैद्यले पनि कार्यकर्ता पक्राउको चर्को विरोध गरेका छन् । वैद्यले न्याय दिलाउने नाउमा द्वन्द्वकालिन मुद्दा नउठाउन आग्रह समेत गरेका छन् ।
माओवादीको प्रथम जिल्ला सम्मेलन उदघाटनका लागि सोमबार दैलेख पुगेका वैद्यले कानुनी र राजनीतिक मूल्य मान्यता तोड्दै मुलुकमा संसदीय फाँसीवाद लागू गर्ने काम भएको भन्दै सोझा कार्यकर्तालाई होइन हिम्मत भए प्रचण्ड, बाबुराम र आफूलाई जेल हालेर देखाउन चुनौती समेत दिए ।
माओवादीलाई मात्र छानीछान थुन्ने काम भएको भन्दै उनले अन्तराष्ट्रिय समुदायलाई निष्पक्ष भएर काम गर्न र सबैलाई न्याय गर्न आग्रह समेत गरेका छन् ।
अध्यक्ष वैद्यले डेकेन्द्र हत्या अभियोग भोगिरहेका कार्यकर्ताहरुसंग भेट गरी जेल जीवनलाई अवसरका रुपमा लिन आग्रह गरे । युद्धकालमा पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा लक्षीराम घर्तीमगर, वीर बहादुर केसी, हरिलाल पुन, जय बहादुर शाही र नीरक बहादुर घर्तीले एक वर्षदेखि जेल जिवत बिताउँदै आएका छन् ।
प्रकाशित मिति:
April 01, 2014