मूल नेतृत्वले गद्दारी गरेकाले वर्गसंघर्ष हारियो : वैद्य
वैशाख ९ गते । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले वर्गसंघर्षमा माओवादी हारेकाले नयाँ तरिकाले क्रान्ति सम्पन्न गर्ने बताएका छन् ।
उनले नयाँ जनवादी क्रान्ति सम्पन्न हुने स्थितिमा जनयुद्धको मूल नेतृत्वले गद्दारी गरेकाले वर्गसंघर्ष हारेको बताए । यहाँस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘१४४ औं लेनिन दिवस, ६५ औं नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस र वामपन्थी अगुवा कृष्णदास श्रेष्ठ सम्मान कार्यक्रम’मा उनले भने, ‘‘राजतन्त्र अन्त्य भयो, धर्मनिरपेक्षता, जनतामा चेतना आयो, तर जनवादी राज्यसत्ता गर्ने भनेका थियौ, त्यो भएन, हामी हारेका छांै ।’’
राष्ट्रियतासहितको जनपक्षीय संविधान बन्ने स्थिति नभएकाले चुनाव बहिष्कार गरेको बताउँदै उनले भने, ‘‘शान्ति सम्झौताका प्रमुख हिस्सालाई बाईपास गरेर एमाओवादीलाई पनि संविधानसभामा भूमिकाविहिन बनाएर जनताको संविधान बन्न सक्दैन, विगतका सबै सहमतिलाई उल्टाएर एकतर्फी रुपमा कसैले पनि शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्दैन ।’’ सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर माओवादीहरुलाई फसाउने प्रत्यन भएको भन्दै आवश्यक परे पुनः जनअदालत, जनसेना र जनसत्ता स्थापना गर्न सक्ने चेतावनी पनि उनले दिए ।
कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य लिलामणी पोखरेलले माक्र्सवादको आधारभूत मूल्यमान्यतालाई आत्मसात गर्दै कम्युनिष्ट आन्दोलनको नयाँ दिशा आवश्यक भएको बताए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषिराम कट्टेलले कम्युनिष्टको नाममा नेपालमा महल बनाउने र पजेरो संस्कृति मौलाएको भन्दै सादा जीवनका कृष्णदास श्रेष्ठबाट पाठ सिके वामपन्थी आन्दोलन उज्ज्वल रहेको दाबी गरे । बुद्धिजीवी मल्ल के सुन्दरले संसारका मजदुर एक होऔं भन्ने कम्युनिष्टहरुले नै एक हुन नसकेकोमा दुःख ब्यक्त गरे ।
माओवादी प्रवत्ता पम्फा भुसालको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (एकीकृत)का महासचिव परी थापा, नेकपा (माओवादी) का सुजन, संयुक्त जनमोर्चाका महासचिव साध्यबहादुरलगायतका नेताहरुले कम्युनिष्ट एकतामा जोड दिएका थिए ।
प्रकाशित मिति:
April 22, 2014