कान्तिपुरका कारण पक्राउ परेका रहेछन् सूचना आयोगका पूर्व प्रमुख आयुक्त कसजु
कान्तिपुर ग्रुपद्वारा सञ्चालित ईकान्तिपुर डटकममा गुगल एडको विषयलाई लिएर कान्तिपुरको दबाबमा प्रहरीले कसजुलाई पक्राउ गरेको खुल्न आएको हो ।
कान्तिपुरको वेबसाइटमा राखिने गुगल एडसेन्स (विज्ञापन) बाट हुने प्रतिमहिना आम्दानी घटेको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको कसजुले फेसबुकमार्फत जानकारी दिएका छन् ।
शुक्रबार साढे तीन बजेतिर अपराध अनुसन्धान महाशाखा हनुमानढोकाबाट तीन जना प्रहरी घरमा आएर कम्प्युटर र उनलाई गाडीमा हाली झन्डै आधा बाटोसम्म लगेर आधा घन्टा जति बाटोमा रोकेपछि घर फर्काएको थियो भने कम्प्युटर भने प्रहरीले लिएर गएको थियो । उक्त कम्प्युटर फिर्ता भएको उनले बताएका छन् ।
ईकान्तिपुर डटकममा ‘गुगल एड’ र वेब साइटको काम हेर्दै आएका इन्जिनियर प्रबिण कर्माचार्यले गुगल एड रकमको हिसाबकिताव व्यक्तिगत एकाउन्टमा जम्मा गरेको भन्दै कान्तिपुर ब्यबस्थापनको दबाबमा कर्माचार्यलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा कसजुका छोरा दिपांकर कसजुको संलग्नता रहेको आशंकामा प्रहरीले उनलाई खोजी गरेको भएपनि शुक्रबार कसजुलाई कुनै कारण बिना नै पक्राउ गरेको थियो ।
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कसजुले भने प्रहरीको अनुसन्धान गर्ने तरिकाप्रति गम्भीर प्रश्न समेत खडा गरिदिएका छन् ।
'वास्तवमा गुगलले कान्तिपुरलाई कुन खातामा कसको खातामा पैसा पठायो भन्ने कुरा पत्ता लगाउनु कुनै गाह्रो कुरा होइन' कसजुले भनेका छन्- 'गुगल कम्पनीसँग आधिकारिक व्यक्ति वा कम्पनी, कान्तिपुर वा प्रहरीले सोझै पत्राचार गरी यो कुरा बुझ्न सक्छ । यस्तो कुरामा पनि शंकाको भरमा वेबसाइट संचालन गर्ने व्यक्ति र कम्पनीलाई दुःख दिनु निश्चय नै आजको युगमा लज्जास्पद कुरा हो । यसैले अनुसन्धानकर्ताहरुलाई तत्सम्बन्धी प्रशिक्षणको तत्काल अति आवश्यक छ ।'
प्रकाशित मिति:
April 21, 2014