किन बांगिन्छ ढाड, के गर्ने उपचार !
ओखलढुंगाकी ४५ वर्षीया मनीषा मगरलाई दुई वर्षअघि एक्कासि ढाड दुख्ने समस्या देखियो। विस्तारै उठ्नबस्नै समस्या हुन थालेपछि उनले ढाड पनि बांगिएको अनुभव गर्न थालिन्। त्यसपछि उनी आत्तिँदै काठमाडौं आई विभिन्न अस्पताल धाउन थालिन्। एक महिनाअघि धापासीस्थित ग्रान्डी अस्पताल पुगेकी उनलाई चिकित्सकले परीक्षण गर्दै जाँदा ढाड बांगिएको पत्ता लाग्यो। तत्कालै उनको बांगिएको ढाड सीधा बनाउन चिकित्सकहरू स्पाइनल डिफरमेटिक करेक्सन शल्यक्रियामा खटिए। करिब सात घन्टाको शल्यक्रियापछि उनको ढाड सीधा हुनुका साथै दु:खाइसमेत कम हुँदै गयो। पछिमात्र थाहा भयो, मगरको हड्डीमा क्षयरोग भएका कारण ढाड बांगिने समस्या देखिएको रहेछ।
शल्यक्रियामा संलग्न अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. विनोद बिजुक्छेले भने, 'मनीषाको ढाडमा नसा च्यापिएको रहेछ। हामीले त्यसलाई खुकुलो पारी बांगो भएको हड्डी सोझो बनायौं। त्यसपछि दीर्घकालसम्म नबिग्रियोस् भनी सानो रड पनि राख्यौं।'
नेपालगन्जका विनोद ज्ञवाली र रूपाले जन्मजात छोराको ढाड नमिलेको पाए। पछि निको हुने भन्दै आफन्तले यो दम्पतीलाई सम्झाए। तर, छोराको ढाड झन्झन् बांगिन थालेको देखेपछि अस्पतालमा सम्पर्क गरे। करिब आठ महिनासम्म उपचार गरेपछिमात्र ढाड सोझो हुन थाल्यो।
ढाड बांगिने समस्याबाट ग्रसित व्यक्तिका यी त केही नमुनामात्र हुन्। यस्ता समस्या पालेर बस्नेको संख्या धेरै छ भन्ने चिकित्सकहरू त भेटिन्छन् तर यसबारे अध्ययन हुन सकेको छैन। यो समस्या सबै उमेरसमूहमा देखा पर्ने भए पनि निम्न आयस्तर भएका परिवार, दैनिक मजदुरी गरिखाने, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी देखिने गर्छ।
ढाड दुख्ने समस्यालाई समयमै व्यवस्थापन गर्न नसक्दा पनि ढाड बांगिने समस्या बढ्ने चिकित्सक बताउँछन्। धेरै समय कुर्सीमा बसेर काम गर्नेहरूमा पनि पछि गएर ढाडको समस्या देखिनसक्ने सम्भावना बढी हुने उनीहरू बताउँछन्। चोटपटक पनि यसको अर्को कारण देखिएको छ। संक्रमण वा हड्डीमा क्षयरोग भएको छ भने पनि ढाड बांगिने समस्या देखा पर्न सक्छ। कतिपय व्यक्तिमा भने ढाड बांगिने समस्या पत्ता लाग्न नसकेको चिकित्सकको अनुभव छ।
जन्मजात रूपमा देखिने ढाड बांगिने समस्याले सबैभन्दा धेरै क्षति बालबालिकालाई पुर्याउने गरेको छ। उमेरसँगै समस्या पनि बढ्दै जाने भएकाले बालबालिका बढी पीडित हुने गरेका छन्। समयमै शल्यक्रिया गर्न सकिएन भने विस्तारै त्यसको असर फोक्सो र मुटुमा पर्छ। प्रौढ वा वृद्ध अवस्थाका मानिसमा ढाड बांगिने समस्या देखिएको छ भने कहिलेकाहीँ अन्य उपाय पनि अपनाउन सकिन्छ। तर, बालबालिकाका लागि भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। 'यो अन्त्यतै संवेदनशील काम हो, एक सेकेन्ड तलमाथि भयो भने पनि ठूलो समस्या निम्तनसक्छ तर हामीले यसमा सफलता पाइरहेका छौं', डा. बिजुक्छे भन्छन्।
कुनै कारणवश ढाड बांगिने समस्याले ग्रसित हुँदा नेपालमा कतिपय मानिसले सामाजिक दुव्र्यवहारको सामनासमेत गर्नुपर्ने अवस्था छ। विशेषगरी महिलामा त्यस्तो समस्या देखिएको छ भने उपचारको साटो घरपरिवारबाटै अपहेलित हुने समस्या छ। अर्कोतर्फ शल्यक्रियाबारे पर्याप्त जानकारी नहुँदा कतिपयले रोग पालेर बस्नुपर्ने अवस्था पनि छ। - अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति:
May 29, 2014