जोखिममा नै छन् त ? नेशनल हाइड्रोका लगानीकर्ता !
वैशाख २९ । केही महिनाअघि मात्रै ७०/८० रुपैयाँमा पाइने नेशनल हाइड्रो पावरको सेयर मूल्य अहिले भने झण्डै २ सयको हाराहारीमा छ ।
सोमबार मात्रै यसको मूल्य ६ रुपैयाँले बढेर १८१ पुगेको छ । त्यसो त सोमबार ६८ पटकमा यसको ९९ हजार कित्ता कारोबार भएको छ । यतिको संख्यालाई सेयर बजारमा ठूलो कारोबार मानिन्छ । केही समयदेखि निरन्तर रुपमा कारोबार संख्या र सेयर मूल्य बढीरहेको यसको जोखिमताबारे भने लगानीकर्ता अन्यौलमा समेत रहेको पाइएको छ ।
सुशासन र विवाद नहुनु हो यसको मूल्य ४ सय भन्दा कम नरहने ब्रोकरहरु बताउँछन् । यसको र अरुण हाइड्रोको मूल्य समान जस्तै रहनु पर्ने हो । अरुणको अहिले साढे ४ सयमा सेयर कारोबार भईरहेको छ । तर, विवादकै कारण यसको मूल्य भने बढ्न नसकि रहेको हो भने अहिले बढेको मूल्य सही हो या बढ्ता भन्नेबारे पनि अन्यौलता रहेको हो ।
नेशनल हाइड्रो नेम्सेमा पटक पटक कारोबार बन्द हुने त कहिले खुल्ने गर्दै आएको छ । भविष्यमा त्यही नियति नदोहोरिएला भन्न सकिने अवस्था पनि छैन । यसअघि नविकरण शुल्क नबुझाएको कारण कम्पनीको सेयर कारोबार नेम्सेले रोक्का समेत गरेको थियो । तर कम्पनीले साधारणसभा गर्न लागेको जनाएपछि कारोबार खुल्ला भएको थियो । जसमा कारोबार खोल्न दिनुपर्ने कारण भने कतिपय सेयर प्रमाण पत्र नक्कली भएको र कतिपयको सेयर स्वामित्व हस्तान्तरण हुन नसकेको विषय थियो । उक्त विषय अहिले भने ओझेलमा परेका छ । तर, यस कम्पनीको हजारौं कित्ता सेयर नक्कली भएको र जसको नामसारी हुन नसकेको विषय अहिले ओझेलमा परे पनि कुनै बेला यो समस्या बल्झिन सक्ने खतरा उति नै छ ।
४३ हजारभन्दा बढी कित्ता शेयर नामसारी हुन नसकेको, २५ लाख कित्ता शेयरको स्वामित्व नखुलेको जस्ता विषय बजारमा आउने गरे पनि यो विषयको टुंगो लागेको पाइएको छैन । अतः यस कम्पनीको कति कित्ता सेयर नक्कली हो भन्ने समेत यकिन भएको छैन ।
यो कम्पनीमा बेला बखत व्यवस्थापन र कर्मचारीबीच समेत संघर्ष चल्ने गरेको छ । अर्कातिर कम्पनीको व्यवस्थापनका विषयमा पनि दुईथरीबिच यस कम्पनीमा विवाद रहँदै आएको छ ।
यसै कम्पनीको शेयर रजिष्ट्रार रिक्त भएपछि नेप्सेले केही समय अगाडी नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई कारोबार रोक्न निर्देशन समेत दिएको थियो ।
यद्यपी, यस कम्पनीमा यतिको धेरै जोखिम रहँदा रहँदै किन यसको मूल्य र कारोबार बढीरहेको छ भन्ने प्रश्न भने उठ्न सक्छ । ब्रोकरहरुका अनुसार यो कम्पनीको विवाद चाँडै सुल्झिने र विवाद सुल्झिदाँ सानो रकमको सेयरबाट उच्च नाफा कमाउने मनोबल बढेकाले यसमा धेरैको रुचि बढेको हो ।
अर्कातिर, यस कम्पनीको सेयर इन्स्योरेन्सहरुले खरिद गरेको हल्ला समेत चलेकाले पनि यसको मूल्य वृद्धिमा राहत मिल्न गएको हो । तर, इन्स्योरेन्सहरुले खरिद गरेको या नगरेको खुल्न सकेको छैन । मूलतः जोखिमका बिच मूल्य बढ्नुमा प्रमुख कारण सेयर सस्तोमा पाउनु र वर्ष दिनमा भएपनि विवाद सुल्झिने र त्यतिबेला अहिले सय तथा डेढ सयमा पाइएको सेयर ३/४ सयमा बेच्न पाइन्छ भन्नु नै रहेको बुझिन्छ ।
प्रकाशित मिति:
May 12, 2014