बाबुरामको नेतृत्वमा छिट्टै नयाँ पार्टी बन्ने दाबी
वैशाख २५ । एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले पार्टी पूर्व उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा छिट्टै नयाँ पार्टी बन्ने दाबी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गति लिइरहेको खुलासा गर्दै नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताए ।
नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको महान अभियानमा डा.बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु सक्रिय भएको उनको भनाई छ ।
कार्यक्रममा रायमाझीले देशलाई निकास दिने खाका वर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको तर्क गरे। 'देशको आवश्यकता अनुसारको नयाँ पार्टी छिट्टै बन्छ, रायमाझीले भने,'नयाँ पार्टी रुपान्तरण सहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजना सहितको हुनेछ।'
परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहे अनुरुपको रुपान्तरण एनेकपा माओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान वाध्य भएको स्पष्ट पारे। नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको खुलासा समेत गरे। एनेकपा माओवादीको संस्थापन पक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहन सकिने र नमिले पछि अलग हुने परिपाठी सामान्य र स्वाभाविक भएको बताउँदै नयाँ पार्टी गठनको सम्भावना बारेको अभियान चलिरहेको बताए।
प्रकाशित मिति:
May 08, 2014