इजरायल जान नेपाली कामदारलाई शुल्क फ्री
जेठ १९ । रोजगारका लागि इजरायल जान नेपाली कामदारलाई शुल्क नपर्ने भएको छ ।
वैधानिक माध्यमबाट इजरायल जाँदा नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने भएको हो ।
इजरायल सरकारले म्यानपावर एजेन्सीबाट कामदार लिन बन्द गरी सरकारमार्फत निःशुल्क लिने प्रक्रिया अघि बढाउनाले अब नेपाली कामदारहरु निःशुल्क इजरायल जान पाउने भएका हुन् ।
नेपालका लागि इजरायली राजदूत हानन गोडरले विगतमा अनियमितता भई कामदारसँग म्यानपावर एजेन्सीहरुले ठूलो रकम असुल्ने गरेको भेटिएपछि रोकिए पनि अब सरकारमार्फत लिने बताएको कारोबारमा खबर छ । ‘नेपाली कामदार लिने प्रक्रिया अगाडि बढाइसकेका छौं,’ गोडरले भने, ‘अब इजरायल जाने कामदारले पैसा तिर्नु पर्दैन ।’ कामदार लिँदा नेपाली म्यानपावर एजेन्सीलाई सहभागी नगराइने गोडरको भनाइ छ ।
‘हामी सबै काम सरकारी तहबाटै पूरा गछौं, यसबाट कामदारको शुन्य लागत सम्भव छ,’ उनले थपे ‘भिसा दूतावासले दिन्छ, त्यसमा पनि शुल्क लाग्दैन ।’ उनका अनुसार यसबारे अध्ययन गर्न छिट्टै इजरायलबाट टोली नेपाल आउँदैछ । अध्ययनपछि आवश्यक सतर्कता अपनाई कामदार लैजाने प्रक्रिया सुरु हुने उनले बताए ।
इजरायल सरकारले ‘कृषिमा सिक र कमाउ (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत यो वर्ष ५ सय नेपाली कृषक लैजाने भएको छ । गत वर्ष २ सय कृषकलाई लैजाँदा राम्रो परिणाम आएको भन्दै गोडरले यो वर्ष कोटा बढाइएको बताए ।
प्रकाशित मिति:
June 02, 2014