महामारीले दुई करोडभन्दा बढीको मकैबाली सखाप
दाङ, साउन । पश्चिम दाङको पवननगर गाविसस्थित भमके गाउँमा मकैबालीमा फैलिएको महामारीले रु दुई करोडभन्दा बढी मूल्यको मकैबाली सखाप भएको छ । रोगले झन्डै ३०० बिघामा लगाएको मकैबाली सखाप पारेको स्थानीय किसानले बताएका छन् ।
पाक्ने अवस्थामा पुगेको मकैमा आकस्मिक रुपमा रोग देखिएपछि किसान चिन्तित भएका छन् । रोग देखिएको एक÷दुई दिनमै आफ्नो सबै बारीको मकै सखाप भएको स्थानीय किसान फलकुदत्त भण्डारीले भने ।
मकैबाली सखाप भएपछि आफूहरूले त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सम्बन्धित किसानले स्थानीय प्रशासनलाई समेत यस विषयमा सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।
यसैबीच, संविधानसभाका सभासद् दीपक गिरीले सरकारले स्वीकृति दिएको बीउ रोपेको अवस्थामा प्रकोप लागेर सखाप भए सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
प्रकोपग्रस्त क्षेत्रमा सोमबार कार्यकर्तासहित पुगेका सभासद् गिरीले त्यसका लागि आफूले पनि पहल गर्ने बताए ।
सो अवसरमा उहाँले यस समस्याका विषयमा कृषि प्राविधिक तथा माटो विज्ञलाई ल्याएर रोगका विषयमा दीर्घकालीन समाधान खोज्न पनि आफूले पहल गर्ने बताए ।
उता, जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भरतमणि पोखरेलको नेतृत्वमा पुगेको टोलीले मकैबालीमा फैलिएको रोगका विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
July 29, 2014