मजदुर हड्तातले ५ दिनदेखि कुरियर सेवा ठप्प, सेवाग्राही मर्कामा
साउन ३१ । कुरियर तथा कार्गो कम्पनीमा कार्यरत मजदुरहरुको आन्दोलनका कारण ५ दिन देखि देशभरका कुरियर सेवा ठप्प भएका छन ।
१० बुँदे माग राख्दै आन्दोलनमा मजदुरहरु उत्रिदाँ उनीहरुको माग सम्बोधन गर्न व्यवसायी तयार नहुँदा सेवाग्राही भने मर्कामा परेका छन् ।
आफूहरुले खाइपाई आएको तलब अत्यन्तै न्यून भएकाले समय अनुसार बृद्धि हुनु पर्ने, श्रम ऐन अनुसार नियुक्तीपत्र, सञ्चयकोष, उपदान लगायत सेवा सुविधा पूर्ण रुपमा लागु हुनु पर्ने लगायत विभिन्न १० बुँदे माग राखी आन्दोलनमा उत्रिएका हुन् ।
अखिल नेपाल संघ संस्था तथा बैंक वित्तीय श्रमिक संघ, कुरियर तथा कार्गो सेवा संघर्ष समितिको नेतृत्वमा मजदुरहरु हडतालसम्मका आन्दोलनमा उत्रिएका हुन् ।
विगत २ महिना देखि माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएकोमा व्यवसायीबाट कुनै सुनुवाई नभए पछि हड्तालमा उत्रिन बाध्य भएको संघर्ष समितिका सचिव सनत ढुंगानाले बताए ।
कुरियर व्यसायीहरुको संगठन नेपाल कुरियर सेवा संघ सँग र प्रतिष्ठान स्तरमै व्यवसायी सँग वार्ता छलफल गर्दा पनि व्यवसायीहरु मजदुरका कुनै सेवा सुविधा वृद्धि गर्न सहमत नभएकोले आफूहरु हड्ताल जारी राख्न बाध्य हुनु परेको कुरा कुरियर तथा कार्गो सेवा संघर्ष समितिका संयोजक बुद्धिकृष्ण गौतमको भनाई छ ।
आफूहरुको माग ज्यादै सामान्य खालका र जायज भएकाले व्यसायीहरुले पुरा गर्न नसक्ने खालको नरहेको तर व्यवसायीहरु माग सम्बोधन गर्नुको सट्टा आन्दोलन रत मजदुरलाई प्रहरी लगाएर धरपकट गराउने सम्मका हर्कत गर्न तर्फ लागेकोले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संयोजक गौतमको भनाई छ उता व्यवसायीहरु भने अन्य माग पुरा गरे पनि आफूहरुलाई आर्थिक भार पर्ने खालका कुनै माग पूरा गर्न नसक्ने अडानमा छन् । हड्तालका कारण कुरियर सेवा मार्फत महत्वपूर्ण चिठ्ठी कागजपत्र तथा सामान आदान प्रदान गर्नू पर्ने ग्राहकहरु समस्यामा परेका छन् ।
प्रकाशित मिति:
August 16, 2014