राहदानी दिने अधिकारीहरुको लापरबाहीका कारण सेवाग्राहीलाई ठूलो क्षति
जनकपुरधाम, ६ असोज । राहदानी फाँटका कर्मचारीको लापरबाहीका कारण धनुषा उमाप्रेमपुर–७ का रामअशिष ठाकुर बरहीलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किनुपरेको छ ।
उडानका लागि भित्र प्रवेश गरेका ठाकुरलाई जाँच गर्ने क्रममा अध्यागमन कार्यालयले एमआरपी जारी गर्ने अधिकारीका हस्ताक्षर र कार्यालयको छाप नरहेको फेला पारेपछि त्रिभुवन विमानस्थलबाट फर्किनुपरेको हो ।
गत भदौ ३१ गते ठाकुर उडानका लागि विमानस्थल पुगेका थिए ।
खाडी मुलुक साउदी अरेबियामा काम गर्दै आएका ठाकुरले बिदाको समय पूरा गरेर त्यसतर्फ जान लागेको थिए ।
कम्पनीले एक हजार रियाल धरौटीमा काठमाडौँबाट दोहा हँुदै दमामसम्मको टिकट उपलब्ध गराएको पीडित ठाकुरले बताए ।
अध्यागमन ऐन, २०४९ अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि, २०६५ अनुसार प्रस्थान अनुमति नदिएको चलानी नम्बर ३६४–०७१÷०७२ को पत्रमा उल्लेख गरिएको छ ।
अनुमति नदिएपछि साउदीस्थित कम्पनीमा जम्मा गरेको एक हजार रियाल डुबेको बताउँदै ठाकुरले नयाँ टिकट खर्च आफैँले व्यहोर्नुपर्ने भएको छ ।
राहदानी नम्बर ०७६९५२९७ रहेको ठाकुरको उडान नम्बर क्युआर ६५१ थियो । प्रस्थान गर्न नसकेपछि कम्पनीलाई जानकारी गराउँदा आफ्नो खर्च व्यहोरेर आउन भनिएको ठाकुरले बताए ।
त्यस्तै, धनुषाकै माची झिटकैया–१ का दीपेन्द्र ठाकुर बरहीको राहदानीमा पनि जारी गर्ने अधिकारीको हस्ताक्षर नभएका कारण विच्चलीमा परेका छन् । अधिकारीको छाप लगाइएको भए पनि हस्ताक्षर भने नभएका कारण विदेश जान समस्या भएको उनले बताए ।
प्रकाशित मिति:
September 22, 2014