आर्थिक वर्षका लागि प्रस्तुत बजेट संसदद्धारा पारित

व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बीसौँ संशोधन) विधेयक, २०७१ पारित भएसँगै सरकारले प्रस्तुत गरेको बजेट अनुमोदन भएको हो ।
अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गर्नुभएका ती दुवै विधेयकलाई सांसदहरूले ध्वनि मतका आधारमा बहुमतले पारित गरेका थिए ।
यसअघि, व्यवस्थापिका–संसद्को गत मङ्गलबार र बुधबारको बैठकमा विनियोजन विधेयक, २०७१ र आर्थिक विधेयक, २०७१ लाई बहुमतले पारित गरेको थियो । यी चारवटा विधेयक पारित भएपछि बजेट पारित भएको मानिन्छ ।
अर्थमन्त्री डा. रामशरण महतले गत असार २९ गते व्यवस्थापिका–संसद्को विशेष बैठकमा चालु आर्थिक वर्ष २०७१÷७२ का लागि रु छ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
सरकारले आवश्यकताका आधारमा नभई पहुँचका आधारमा बजेट विनियोजन गरेको आरोप लगाउँदै एनेकपा (माओवादी) लगायतका प्रतिपक्षी दलहरूले संसद्को बैठक अवरुद्ध तुल्याएपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफल लामो समयसम्म प्रभावित भएको थियो । बजेट पारित गर्ने दिन संसद्को बैठकमा सांसदहरू प्रायः सबै उपस्थिति हुने परम्परा भए पनि आज बजेट पारित हुँदा त्यो अवस्था देखिँदैन्थ्यो । रासस
प्रकाशित मिति:
October 19, 2014