एमाले पदाधिकारीबीच तीव्र विवाद
धनगढी, १४ कात्तिक । नेकपा (एमाले) जिल्ला कार्यसमिति कैलालीका पदाधिकारीबीच कार्य समितिका सदस्यहरुको मनोनयनको विषयलाई लिएर तीव्र विवाद बढेको छ ।
पार्टीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले पार्टीको विधान र पद्धति विपरीत गत भदौ महिनामा आठजनालाई कार्यसमितिमा मनोनीत गरेको भन्दै कार्यसमितिका अन्य पदाधिकारीहरु असन्तुष्ट देखिएपछि विवाद बढेको हो ।
विवाद बढ्दै जाँदा बिहीबार डाकिएको जिल्ला कार्यसमितिको बैठक जिल्ला उपाध्यक्ष रतन थापा, सचिव रणबहादुर चन्द, सहसचिव नेपालु चौधरी, सदस्य बिष्णु चन्द, सचिवालय सदस्य यज्ञराज बाँस्तोलालगायतका पदाधिकारीले बैठकसमेत बहिष्कार गरेका छन् ।
पद्धति र प्रक्रिया मिचेर मनोनीत गरिएका पदाधिकारीलाई केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलको उपस्थितिमा वैधता दिन बैठक डाकिएकाले आफूहरुले बैठक बहिष्कार गरेको सचिवालय सदस्य बाँस्तोलाले बताए ।
जिल्ला अध्यक्षले मनोमानी ढङ्गले कार्यसमितिका सदस्यहरुलाई मनोनीत गरेका कारण कार्यसमितिमा विवाद बढेको जानकारी केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावललाई गराइएको बाँस्तोलाले बताए ।
जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय उपाध्यक्ष रावल प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
पार्टीका पदाधिकारीबीच उत्पन्न विवादबारे जानकारी लिन पटकपटक प्रयास गरिए पनि जिल्ला अध्यक्ष सोडारी सम्पर्कमा आउन चाहेनन् ।
एमाले जिल्ला कार्यसमिति ७२ सदस्यीय रहेको छ ।
प्रकाशित मिति:
October 31, 2014